काठमाडौं - अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। आइतबार ट्रम्पले एक अन्तर्वार्तामा चीनले इरानलाई सैन्य मद्दत गरेमा चीनलाई ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।
ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए । ट्रम्पले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकताको समयमा सङ्गठन अमेरिकाको साथमा नरहेको बताएका छन्। ट्रम्पले अमेरिकाले नेटोमा भारी खर्च गर्ने तर अपेक्षाअनुसार समर्थन नपाएको बताए। उनले आफू नेटोदेखि निराश रहेको र यस विषयमा गम्भीर समीक्षा गरिने बताए।
यसअघि ट्रम्पले सही समय आएपछि आफ्नो देशले इरानविरुद्ध कारबाही गर्ने बताएका थिए। उनले यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालको पोस्टमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अर्थात् पूर्ण रूपमा तयार रहेको बताएका छन्। सही समय आएपछि अमेरिकी सेनाले इरानमाथि कारबाही गर्न सक्ने उनले संकेत गरेका हुन् ।
यसअघि ट्रम्पले इरानलाई टोल तिर्ने जहाजहरूलाई पनि बाटोमै रोक्ने धम्की दिएका थिए । उता, यरानले भने होर्मुज स्ट्रेट पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजहरूले रियालमा टोल तिर्नु अनिवार्य हुने बताएको छ।