काठमाडौं - नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना ग्राहकका लागि विशेष ‘न्यू इयर अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै दुई प्रकारका डेटा प्याकेज सार्वजनिक गरेको हाे।
अफरअन्तर्गत ‘न्यू इयर लाइट’ प्याकेजमा ४९९ रुपैयाँमा दैनिक ५ जीबी डेटा उपलब्ध हुनेछ। तोकिएको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। ‘न्यू इयर प्रिमियम’ प्याकेजमा ६९९ रुपैयाँमा दैनिक १० जीबी डेटा पाइनेछ, जसपछि ३ एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ।
दुवै प्याकेजको वैधता अवधि ३० दिन रहनेछ। यो अफर २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख २ गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ। पोस्टपेड प्रयोगकर्ताका लागि भने प्याकेज शुल्क मासिक बिलमै समावेश गरिने जनाइएकाे छ।
ग्राहकले मोबाइलबाट *1415*11# डायल गरी वा नेपाल टेलिकम एपमार्फत समेत उक्त अफर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। कम्पनीले नयाँ वर्षको अवसरमा सम्पूर्ण सेवाग्राहीमा शुभकामना व्यक्त गर्दै सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।