काठमाडौं - देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । मध्यान्नबाट काठमाडाैंमा वर्षा भइरहेको छ ।
वाग्मतीदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । तुलनात्मक रूपमा सुदूरपश्चिम प्रदेशमा बिहान धेरै वर्षा भएको छ । डडेलधुरामा सबैभन्दा धेरै वर्षा भएको छ । बिहान १० बजेसम्म पछिल्लो ६ घण्टामा डडेलधुरामा १०.२ मिलिमिटर वर्षा भएको छ ।
“अन्य प्रदेश र स्थानमा पनि वर्षा भइरहेको छ । तर, १० मिलिमिटरभन्दा कम छ,” जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले तुलनात्मक रुपमा पश्चिममा धेरै वर्षा भइरहेको बताएका छन् । मौसमविद् लामिछानेका अनुसार, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको उनले जानकारी दिए ।
आज राति पनि वर्षाको सम्भावना छ । राति भने वर्षा क्रमशः पूर्वतर्फ सर्दै जाने विभागले जनाएकाे छ । कोसी, मधेस, वाग्मती प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । बाँकी तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
भोलि बिहानबाट पानी पर्ने क्रम केही कम हुने उनले प्रस्ट पारे । “बिहीबार बिहानबाट नै पानी पर्ने क्रम कम हुन्छ । दिउँसोबाट त धेरै ठाउँमा मौसम सफा हुन थाल्छ,” उनी अगाडि थप्छन्, “पश्चिम नेपालमा बिहानबाट मौसम सफा हुन सुरु हुन्छ । कोसी प्रदेश र हिमाली भूभागमा भने भोलि दिउँसो पनि केही वर्षाको सम्भावना छ ।”
शुक्रबारबाट भने मौसम सुधार हुने मौसमविद् लामिछानेको भनाइ छ । जलवायुविज्ञ धर्मराज उप्रेती पश्चिमी वायुको प्रभाव आज देशभरि नै देखिने सम्भावना रहेको बताउँछन् ।
आज दिनभर र भोलिसम्म वर्षा हुने विज्ञहरु बताउँछन् । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण वर्षाको सम्भावना रहेको हो ।