एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको दुई हप्ताको युद्धविराम सम्झौतालाई संयुक्त राज्य अमेरिकाको ऐतिहासिक र पूर्ण विजयको रूपमा व्याख्या गरेका छन्। इरानसँगको तनावपूर्ण सम्बन्ध र पछिल्ला घटनाक्रमबिच भएको यो अल्पकालीन सम्झौतापछि उनले यसमा कुनै शङ्का नरहेको भन्दै आफ्नो कूटनीतिक सफलताको दाबी गरेका हुन्।
ट्रम्पले यस सम्झौताले इरानलाई झुकाउन सफल भएको सङ्केत दिँदै विश्व राजनीतिमा नयाँ हलचल पैदा गरिदिएका छन्। विशेष गरी इरानको सबैभन्दा विवादित विषय मानिएको संवर्धित युरेनियमका सम्बन्धमा ट्रम्पले अब चिन्ता लिनुपर्ने अवस्था नरहेको बताए।
उनले उक्त युरेनियमलाई सम्झौता बमोजिम ‘पूर्ण रूपमा व्यवस्थित’ गरिने स्पष्ट पारेका छन्। यद्यपि, त्यो युरेनियमलाई कहाँ लगिनेछ वा कसरी नष्ट गरिनेछ भन्नेबारे उनले कुनै पनि ठोस विवरण वा प्राविधिक जानकारी दिन अस्वीकार गरे। उनले केवल यति मात्र दोहोर्याए कि यदि युरेनियमको सुरक्षित व्यवस्थापनको ग्यारेन्टी नभएको भए आफूले कुनै पनि हालतमा यो सम्झौतामा हस्ताक्षर गर्ने थिएनन्।
यसअघि उनले इरानका नागरिक ऊर्जा केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने कडा चेतावनी दिएका थिए। यदि यो दुई हप्ताको युद्धविराम भंग भएमा के पुरानै धम्की बमोजिम अमेरिका आक्रमणमा उत्रिनेछ भन्ने प्रश्नमा ट्रम्पले यसको सिधा जवाफ नदिई ‘त्यसका लागि तपाईंहरूले कुर्नुपर्नेछ’ भन्दै भविष्यको सैन्य कदमको सम्भावनालाई खुला राखे।
अर्कोतर्फ, यो सम्झौतामा चीनको भूमिकालाई लिएर पनि ट्रम्पले महत्त्वपूर्ण खुलासा गरेका छन्। अर्को महिना चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न बेइजिङ जाने तयारीमा रहेका उनले इरानलाई वार्तामा ल्याउन चीनले भूमिका खेलेको स्वीकार गरे। तेहरानको प्रमुख सहयोगीको रूपमा रहेको चीनले यो युद्धविराम गराउन मध्यस्थता गरेको हो भन्ने प्रश्नमा ट्रम्पले ‘मैले पनि त्यस्तै सुनेको छु’ भन्दै सकारात्मक प्रतिक्रिया दिए।