काठमाडौं - नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो ।
कांग्रेस सांसद गीता गुरूङले बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको जानकारी दिइन् ।‘बैठकको एजेन्डाबारे केही भनिएको छैन,’ उनले अनलाइनखबरसँग भनिन्, ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर खबर आएको छ ।’प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुन गइरहेको छ ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।दोस्रो दलको हैसियतमा रहेको कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् ।