सिन्ह्वा- चिनियाँ तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एक टोलीले चीनको भूभागलाई विश्वकै नयाँ जैविक विविधता ‘हटस्पट’ (महत्त्वपूर्ण क्षेत्र) का रूपमा मान्यता दिन प्रस्ताव गरेको छ । यसले उक्त क्षेत्रको असाधारण वनस्पति विविधता र संरक्षणको आवश्यकतालाई उजागर गर्ने अपेक्षा गरिएको हाे ।
उक्त अध्ययन चिनियाँ विज्ञान एकेडेमी अन्तर्गतको वनस्पति संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा अष्ट्रेलिया र बेलायतका वैज्ञानिकहरूको सहकार्यमा गरिएको छ । अध्ययन मङ्गलबार प्रतिष्ठित वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । अनुसन्धान अनुसार, करिब १५.४ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा १४ हजार भन्दा बढी वनस्पति प्रजाति पाइन्छन् । यद्यपि मूल वनस्पतिको करिब ७ प्रतिशत मात्र बाँकी रहे पनि यहाँ दुई हजार २४ भन्दा बढी स्थानिक वनस्पति प्रजाति भेटिएका छन्, जुन हटस्पटका लागि आवश्यक मापदण्डभन्दा निकै माथि हो ।
यी आधारमा अनुसन्धान टोलीले यस क्षेत्रलाई विश्वको ३७औँ जैविक विविधता हटस्पट घोषणा गर्न औपचारिक प्रस्ताव गरेको छ । यदि मान्यता प्राप्त भयो भने, यो चीनको पाँचौँ यस्तो क्षेत्र बन्नेछ । अनुसन्धानकर्ताहरूले यस मान्यताले संरक्षण प्रयासलाई सुदृढ बनाउने, संरक्षित क्षेत्रहरूको योजना बनाउन सहयोग गर्ने तथा अन्तर्राष्ट्रिय समर्थन आकर्षित गर्ने आशा व्यक्त गरेका छन् ।