एएफपी- मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको हाे ।
दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा उल्लेख छ । यस घटनामा अन्य सैनिकहरू घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त क्षेत्रमा इजरायली सेना इरान समर्थित हिजबुल्लाहसँग निरन्तर भिडन्तमा संलग्न छ ।
यसैबीच, इजरायलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत अवरोध गरेको जनाएको छ । जेरुसेलममा कम्तीमा १० वटा विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इजरायली सेनाका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाट प्रक्षेपण गरिएको पुष्टि गरिएको छ ।
उता तेहरानमा पनि विस्फोटको आवाज सुनिएको र केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । केही समयपछि प्रभावित क्षेत्रमा पुनः बिजुली आपूर्ति सुरु गरिएको बताइएको छ । युद्धको दायरा इराकसम्म फैलिएको सङ्केत देखिएको छ । पपुलार मोबिलाइजेसन फोर्सेज (पिएमएफ) ले अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणबाट आफ्ना दुई सैन्य अड्डा लक्षित भएको दाबी गरेको छ । बाबिल र अनबर प्रान्तमा भएका ती आक्रमणमा भने तत्काल कुनै हताहतको विवरण प्राप्त भएको छैन ।
यसै क्रममा दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमा आगलागी भएको छ । कुवेतको सरकारी तेल कम्पनीका अनुसार उक्त ट्याङ्करमाथि इरानबाट प्रत्यक्ष आक्रमण गरिएको थियो, यद्यपि मानवीय क्षति भने भएको छैन । साथै, हवाई प्रतिरक्षा प्रणालीबाट खसेका भग्नावशेषका कारण सहरमा अन्य आगलागी हुँदा चार जना घाइते भएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धले आफ्ना आधाभन्दा बढी रणनीतिक लक्ष्य हासिल गरिसकेको दाबी गरे, तर यसको अन्त्य कहिले हुने भन्नेबारे कुनै निश्चित समयसीमा दिन अस्वीकार गरे । संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) ले लेबनानको दक्षिणी क्षेत्रमा भएको विस्फोटमा दुई शान्ति सैनिक मारिएको पुष्टि गरेको छ । सो घटनामा अन्य दुई घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ ।
बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणका क्रममा छर्रा नजिकै खस्दा एक सर्वसाधारण घाइते भएका छन् । यता, होर्मुज जलडमरूमध्यमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना इरानको संसदीय आयोगले अनुमोदन गरेको छ । ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्ग युद्धका कारण प्रभावित भएको छ, जसले विश्व बजारमा असर पार्ने देखिन्छ ।
यसबीच, जी-७ राष्ट्रहरूले ऊर्जा बजार स्थिर राख्न आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, नाटो सेनाले इरानबाट टर्कीतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ, जसले क्षेत्रीय युद्ध थप विस्तार हुन नदिने प्रयासलाई सङ्केत गर्छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग निजी स्तरमा भइरहेको संवादप्रति आशावाद व्यक्त गरेका छन् । उनले इरानभित्र आन्तरिक विभाजन देखिएको र त्यसले कूटनीतिक समाधानको सम्भावना बढाएको उल्लेख गरेका छन्।
यसैबीच, इजरायलले तेहरानस्थित इमाम हुसेन विश्वविद्यालयमा आक्रमण गरेको दाबी गर्दै उक्त संस्था उन्नत हतियार अनुसन्धानमा संलग्न रहेको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिएका छन् । उनले इरानका तेल पूर्वाधार तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गर्न सकिने सङ्केत गर्दै दबाब बढाउन खोज्नुभएको देखिन्छ ।