एपी- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले इजरायल माथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ र विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ । हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थलहरू’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको हाे ।
यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ । जरायली सैन्य प्रवक्ताले देश बहुपक्षीय युद्धको सम्भावनाका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । हुथीहरू इरानको ‘प्रतिरोध अक्ष’ अन्तर्गतका महत्वपूर्ण सहयोगी मानिन्छन् । यस समूहले यमनको राजधानी सना र देशको ठूलो उत्तरी क्षेत्र नियन्त्रणमा राखेको छ र सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारविरुद्ध गृहयुद्ध लड्दै आएको छ ।
हालै संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि करिब एक महिनासम्म मौन रहेका हुथीहरू अब प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गरेका हुन् । विश्लेषकहरूका अनुसार हुथीहरूको यस सक्रियताले अन्तर्राष्ट्रिय समुद्री ढुवानी र ऊर्जा आपूर्तिमा थप अवरोध ल्याउन सक्छ । यसले विश्व अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने सम्भावना रहेको छ । हुथी पक्षले अमेरिका र इजरायललाई आफ्नो क्षेत्र प्रयोग गरेर इरानमाथि आक्रमण गर्न नदिने चेतावनी दिएको छ । उनीहरूले आवश्यक परे थप कडा कदम चाल्ने सङ्केत पनि दिएका छन् ।
यसअघि पनि हुथीहरूले व्यापारिक जहाजहरू लक्षित गर्दै सयभन्दा बढी आक्रमण गरेका थिए, जसका कारण अन्तर्राष्ट्रिय ढुवानी प्रणालीमा ठूलो अवरोध आएको थियो ।विशेषज्ञहरूका अनुसार यदि क्षेत्रीय तनाव अझ बढेमा ऊर्जा बजार, ढुवानी र विश्व व्यापारमा गम्भीर असर पर्न सक्नेछ ।