एएफपी- चन्द्रमालाई केन्द्रमा राख्दै चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो दीर्घकालीन रणनीति तीव्र बनाएको छ, जसले विश्व शक्ति सन्तुलनमै प्रभाव पार्ने सङ्केत देखिएको छ । सन् २०३० भित्र मानवलाई चन्द्रमामा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको चीनले त्यसपछि चन्द्र आधार निर्माण र अन्ततः मङ्गल ग्रहसम्म पुग्ने महत्त्वाकांक्षा सार्वजनिक गरेको छ, जसले अमेरिकाको परम्परागत वर्चस्वलाई चुनौती दिने अवस्था सिर्जना गरिरहेको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा आफ्नो आर्टेमिस-२ मानवयुक्त चन्द्र अभियानको तयारीमा जुटिरहेका बेला चीनले भने आफ्नो दीर्घकालीन योजनाअनुसार स्थिर रूपमा कार्यक्रम अगाडि बढाइरहेको छ । सन् १९९२ सेप्टेम्बर २१ मा सुरु गरिएको चीनको चालक दल अन्तरिक्ष कार्यक्रम ‘प्रोजेक्ट ९२१’ अहिले परिपक्व चरणमा पुगेको मानिन्छ । सन् २००३ मा अन्तरिक्ष यात्री याङ लिवेइले पहिलो उडान गरेपछि चीनले करिब १५ वटा मानवयुक्त मिशन सफलतापूर्वक सञ्चालन गरिसकेको छ ।
सन् २०११ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएपछि चीनले आफ्नै ‘टियाङ्गोङ’ अन्तरिक्ष स्टेशन निर्माण गर्यो, जसले २०२१ देखि अन्तरिक्ष यात्रीहरूलाई बसोबास गराउँदै आएको छ । हाल तीन जना चिनियाँ अन्तरिक्ष यात्री उक्त स्टेशनमा रहेका छन् । यस प्लेटफर्ममार्फत चीनले स्पेसवाक, डकिङ, मर्मतसम्भार तथा मानव शरीरमा अन्तरिक्षको प्रभावबारे व्यापक अनुभव सङ्कलन गरिरहेको छ । उल्लेखनीय कुरा के छ भने, चीनको कुनै पनि मानवयुक्त प्रक्षेपण अहिलेसम्म दुर्घटनाग्रस्त भएको छैन ।
विशेषज्ञहरूका अनुसार चीनको अन्तरिक्ष कार्यक्रमको मुख्य शक्ति यसको स्थिर नीति र दीर्घकालीन योजना हो । अस्ट्रेलियाको म्याक्वेरी विश्वविद्यालयका प्राध्यापक रिचर्ड डे ग्रिजका अनुसार उच्च राजनीतिक प्रतिबद्धता, निरन्तर लगानी र औद्योगिक संरचनाको एकीकृत विकासले चीनलाई निरन्तर प्रगति गर्न सहयोग गरेको छ । उनले पश्चिमी देशहरूमा जस्तो राजनीतिक चक्रसँगै प्राथमिकता परिवर्तन नहुने भएकाले चीनको मोडेल बढी पूर्वानुमानयोग्य र जोखिम व्यवस्थापनका हिसाबले प्रभावकारी रहेको उल्लेख गरे ।
चीनले सन् २०३० सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि सारेको छ । यसका लागि आवश्यक प्रविधिहरू तीव्र रूपमा विकास भइरहेका छन् । सन् २०२६ मा ‘मेङ्झाउ’ नामक नयाँ अन्तरिक्ष यान परीक्षण उडानका लागि तयार पारिँदैछ, जसले पुरानो ‘शेन्झाउ’ लाई प्रतिस्थापन गर्नेछ । त्यस्तै, ‘लङ मार्च–१०’ नामक शक्तिशाली रकेट विकासको अन्तिम चरणमा पुगेको छ, जसले अन्तरिक्ष यानलाई चन्द्र कक्षामा पुर्याउनेछ । चन्द्र सतहमा अवतरणका लागि ‘लान्यु’ ल्यान्डर सन् २०२८-२०२९ बीच परीक्षण हुने अपेक्षा गरिएको छ ।
चीनको लक्ष्य केवल अवतरणमा सीमित छैन । उसले सन् २०३५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुव नजिकै ‘अन्तर्राष्ट्रिय लुनार रिसर्च स्टेशन’ स्थापना गर्ने योजना बनाएको छ । उक्त क्षेत्रमा पानीको सम्भावना भएकाले वैज्ञानिक तथा रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । यो परियोजनामा रूससँग सहकार्य भइरहेको छ । चन्द्रमाको माटोबाट थ्रीडी प्रिन्टर प्रयोग गरी इँटा निर्माण गरेर आधार बनाउने प्रविधि परीक्षणकै चरणमा छ, जसलाई ‘चाङ-८’ मिशनमार्फत चन्द्रमामा प्रयोग गर्ने तयारी छ ।
चीनले चन्द्रमाको टाढाको भागसँग पृथ्वीको सञ्चार सहज बनाउन रिले उपग्रहहरूको नेटवर्क पनि विकास गरिरहेको छ । यसले भविष्यका दीर्घकालीन मिशनहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ ।यद्यपि चीनले यसलाई औपचारिक रूपमा अमेरिकासँगको प्रतिस्पर्धा मान्दैन । खगोलशास्त्री जोनाथन म्याकडवेलका अनुसार चीनका लागि चन्द्रमा कुनै प्रतिस्पर्धाको प्रतीक नभई स्वाभाविक प्रगतिको अर्को चरण हो । तर उनले चन्द्र आधार स्थापना भएमा सीमित उपयुक्त स्थानका कारण अमेरिकाका लागि चुनौती उत्पन्न हुने बताए ।
हालका लागि चीन अझै मानव अन्तरिक्ष उडान प्रविधिमा अमेरिकाभन्दा केही पछि रहेको विश्लेषकहरू बताउँछन् । अन्तरिक्ष विशेषज्ञ चेन लानका अनुसार नासाका ‘ड्र्यागन’ र ‘ओरियन’ यानहरू चीनका ‘शेन्झाउ’ भन्दा उन्नत छन् । तर सन् २०३० सम्ममा नयाँ प्रविधिसहित मानव चन्द्र अवतरण सफल भएमा चीनले यो अन्तर घटाउने अपेक्षा गरिएको छ ।
दीर्घकालीन रूपमा चीनको नजर मङ्गल ग्रहमा केन्द्रित छ । सन् २०४० पछि चन्द्र आधारलाई मङ्गल अभियानका लागि परीक्षणस्थलका रूपमा प्रयोग गर्ने योजना छ । वैज्ञानिकहरूले मङ्गललाई भविष्यको मानव गन्तव्यका रूपमा हेरिरहेका छन्, तर प्रारम्भिक चन्द्र परियोजनाहरू सफल नभएसम्म त्यतातर्फ ठोस कदम चालिने सम्भावना कम रहेको विश्लेषण गरिएको छ ।