भोजपुर- भोजपुरको मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिकाको सुन्दर पर्यटकीयस्थल चखेवामा ‘रैथाने खाना महोत्सव’ हुने भएको छ । स्थानीय रैथाने परिकार, कृषि उत्पादनको प्रवर्द्धन, बजारीकरण र मुन्दुम पदमार्ग पर्यटनको परिचय गराउने उद्देश्यले यही चैत ३० देखि २०८३ वैशाख २ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको चखेवा होटल तथा होमस्टे व्यवसायी सङ्घका अध्यक्ष विवेक कुलुङले जानकारी दिए ।
महोत्सवमा विशेषगरी स्थानीय उत्पादनबाट बनाइएको कोदोको रोटी, गुन्द्रुकको आधार, फापरको रोटी र अन्य परिकारहरू उपलब्ध हुने उनले जानकारी दिए । पर्यटकले यहाँको प्रकृति, सांस्कृतिक परम्परा र अतिथि सत्कारको अनुभवसँगै स्थानीय जीवनशैली पनि नजिकबाट बुझ्ने अवसर पाउने अध्यक्ष कुलुङले बताए ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष अध्यक्ष सरोज बस्नेतले महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार गर्ने मात्र नभई, पर्यटकलाई यहाँको सांस्कृतिक र प्राकृतिक सम्पदासँग परिचित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सव गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालन गर्न लागिएको हो ।