काठमाडाैं- नेपाली कांग्रेसबाट उम्मेदवार हुन इच्छुकले अनिवार्य रुपमा ‘लिडरसीप एकेडेमी’को कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको छ ।आगामी स्थानीय र प्रदेश निर्वाचनबाट लीडरसीप एकेडेमी सुरु गर्न लागिएको हो ।
पार्टीले बनाएको पाठ्यक्रम अनुसार लिडरसीप एकडेमीको कक्षा लिएपछि मात्रै उम्मेदवार हुनका लागि बाटो खुल्ने सभापति गगन थापाले जानकारी गराएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार हुन आकांक्षीले लिडरसीप एकेडेमीको पाठ्यक्रम नीति प्रतिष्ठानले बनाउने छ । नीति प्रतिष्ठान संयोजक उपसभापति हुने व्यवस्था छ ।
उम्मेदवार चयन गर्नका लागि बनाउन लागिएको नयाँ मापदण्ड बारे सभापति थापाले भने, ‘स्थानीय र प्रदेश निर्वाचनमा जो साथीहरु आकांक्षी हुनुहुन्छ । उहाँहरुले लिडरसीप एकेडेमीमा आएर अनिवार्य तोकिएको पाठ्यक्रम र तोकिएको घण्टा अनुसारको अनिवार्य कक्षा लिनुपर्दछ ।
उक्त व्यवस्था कांग्रेसमा आस्था राख्ने नयाँ व्यक्ति वा पुरानो सबैको हकमा लागु हुने सभापति थापाले जानकारी गराए । उनी भन्छन्, ‘चाहे त्यो नयाँ वा पुरानो साथीहरु हुनुहोस् । राजनीति गरेका अनुभवहरु भोलि कार्य क्षेत्रमा काम लागिहाल्छ । तर, शासकीय अनुभव लिएर जाने कुरा त्यत्तिकै महत्वपूर्ण छ ।’
तीन तहको चुनावमा उम्मेदवार हुनु अघि लिडरसीप एकेडेमीको कक्षा लिनुपर्ने मापदण्ड रास्वपाले समेत बनाएको छ । तर, लागु भने भएको छैन ।