काबुल- अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ ।विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले उनको हिरासत अवधि पर्याप्त ठहर गर्दै रिहा गर्ने निर्णय गरेको हो ।” यो घोषणा विदेशमन्त्री अमिर खान मुत्ताकी, अफगानिस्तानका लागि पूर्व अमेरिकी विशेष दूत जाल्माय खलिलजाद, काबुलका संयुक्त अरब इमिरेट्सका राजदूत सैफ मोहम्मद अल–केतबी तथा कोयलका एक परिवार सदस्यबीच भएको भेटपछि आएको हो ।
मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्सले रिहाइ प्रक्रियामा सहजीकरण गरेको थियो र मङ्गलबार कोयल आफ्ना परिवारसँग काबुलमै पुनर्मिलन भएका छन् । ६४ वर्षीय कोयललाई सन् २०२५ जनवरीमा अफगान अधिकारीहरूले पक्राउ गरेका थिए ।परिवारद्वारा सञ्चालित एक विवरण अनुसार उनी शैक्षिक अनुसन्धानकर्ताको रूपमा अफगान समुदायलाई सहयोग गर्ने कानुनी काममा संलग्न रहेका बेला पक्राउ परेका थिए ।
परिवारले उनी लगभग एकान्त हिरासतमा राखिएको, सामान्य सुविधाका लागि समेत अनुमति लिनुपर्ने अवस्था रहेको र पर्याप्त स्वास्थ्य सेवाबाट वञ्चित गरिएको दाबी गरेको छ । कोयल पहिलो पटक सन् २००० को दशकको सुरुवाततिर अफगानिस्तान पुगेका थिए, जहाँ उनले भाषिक विविधताको अध्ययन र स्थानीय भाषामा स्रोत विकास गर्न सहयोग गरेका थिए ।
उनी वर्षौंदेखि काबुलमै बसोबास गर्दै आएका थिए र अफगान जनतासँग गहिरो सम्बन्ध बनाएका थिए । यस महिनाको सुरुवातमा अमेरिकाले अफगानिस्तानलाई ‘गलत तरिकाले मानिसहरूलाई हिरासतमा राख्ने देश’ को सूचीमा समावेश गरेको थियो ।अफगान अधिकारीहरूले उक्त निर्णयलाई ‘दुःखद’ बताएका छन् र दुवै पक्षबीच वार्ता तथा अघिल्ला रिहाइ प्रक्रियामा मध्यस्थकर्ताको भूमिका रहेको उल्लेख गरेका छन् ।सन् २०२५ मा तालिबान सरकारले ‘सद्भावना सङ्केत’ का रूपमा पाँच अमेरिकी नागरिकलाई रिहा गरेको जनाएको थियो ।