काठमाडाैं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक भएकाे छ । कांग्रेसको १५औँ महाधिवेशन आगामी २४ देखि २६ भदौमा काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । सो प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकमा पेस गरिएकाे हाे ।
प्रस्तावित कार्यतालिका अनुसार आगामी २१ चैतदेखि मसान्तसम्ममा क्रियाशील सदस्यता फारम सबै तहमा पुर्याउने र सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने विषय उल्लेख गरिएको छ ।
त्यस्तै, आगामी १ वैशाखबाट मसान्तसम्म सबै वडामा क्रियाशील सदसयता वितरण तथा रिन्यु गर्ने प्रस्ताव छ । सदस्यता वितरणलाई डिजिटल प्रणालीमा लैजाने प्रस्ताव पनि कांग्रेसको छ । सदस्यले सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्ने, सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी र पासवर्ड वितरण गर्ने प्रस्ताव बैठकमा पेस गरिँदै छ । त्यस्तै, वैशाख महिनाभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ ।