मुस्ताङ- नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने छ अर्ब राजस्व संकलन गरेको जनाएको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको हाे ।
कार्यालयका प्रमुख रमेश खड्काले उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाख रुपैयाँ मूल्य बराबरको मालवस्तु चीनतर्फ निर्यात भएको हो । हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।
यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएकोे भन्सार प्रमुख खड्काको भनाइ छ । गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाका रुपमा प्रयोग गरिएको थियो ।
यसलगत्तै नेपाल सरकार भन्सार विभागले वैकल्पिक रुपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रुपमा सञ्चालन गराएको थियो । बर्सेनि १०/१५ लाख रुपैयाँ आर्थिक राजस्व संकलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजदेखि यता उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको कार्यालयको भनाइ छ ।