काठमाडाैं - जापानका प्रख्यात एनिमेसन निर्देशक त्सुतोमु शिबायामा (Tsutomu Shibayama)को ८४ वर्षको उमेरमा निधन भएको छ। विश्वभर लोकप्रिय बाल कार्यक्रम डाेरेमन(Doraemon)लाई सफलतापूर्वक निर्देशन गरेर अन्तर्राष्ट्रिय पहिचान दिलाउन उनको महत्वपूर्ण योगदान रहेको मानिन्छ।
शिबायामाले विशेष गरी १९८० र १९९० को दशकमा ‘डोरेमोन’ का थुप्रै चर्चित चलचित्र तथा एपिसोड निर्देशन गरेका थिए। उनको निर्देशनमा बनेका कथाहरूले बालबालिकामा मात्र होइन, वयस्क दर्शकमाझ पनि गहिरो प्रभाव पारेका थिए। सरल कथा, मानवीय भावना र भविष्य प्रविधिको कल्पनालाई सन्तुलित रूपमा प्रस्तुत गर्ने उहाँको शैली निकै प्रशंसित थियो।
उहाँले ‘डोरेमोन’ बाहेक अन्य जापानी एनिमेसन परियोजनामा पनि काम गर्दै एनिमेसन उद्योगलाई नयाँ उचाइमा पुर्याउन योगदान दिनुभएको थियो। जापानी एनिमे (anime) लाई विश्व बजारमा स्थापित गर्न उनीजस्ता सर्जकहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ।
शिबायामाको निधनसँगै एनिमेसन क्षेत्रमा एक युगको अन्त्य भएको भन्दै विश्वभरका कलाकार, दर्शक तथा प्रशंसकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनको सिर्जनाले आगामी पुस्तालाई समेत प्रेरणा दिइरहने विश्वास गरिएको छ।