बेइजिङ - विश्वभर लोकप्रिय बन्दै गएका लाबुबु डलहरू अब ठुलो पर्दामा देखिने भएका छन् । चिनियाँ खेलौना कम्पनी पप मार्ट र सोनी पिक्चर्सले मिलेर लाबुबुमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेका छन् । कम्पनीहरूले जारी गरेको वक्तव्यअनुसार फिल्म अहिले प्रारम्भिक विकास चरणमा रहेको छ र यसमा लाइभ-एक्सन र कम्प्युटर–जेनेरेटेड एनिमेसनको संयोजन हुनेछ ।
फिल्म निर्देशनको जिम्मा पल किंगले पाएका छन् । उनले यसअघि वोंका, प्याडिंगटनजस्ता सफल फिल्महरू निर्देशन गरिसकेका छन् । उनी द माइटी बुशजस्ता चर्चित टेलिभिजन सिरिजसँग पनि जोडिएका छन् । यद्यपि फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
हालका वर्षहरूमा लाबुबु डलहरू विश्वभर भाइरल भएका छन् । संकलकहरू मात्र होइन, विभिन्न सेलिब्रेटीहरूबिच पनि यसको लोकप्रियता उच्च छ । यो डलको क्रेजका कारण पप मार्टको बार्बी म्याटेलजस्ता स्थापित प्रतिस्पर्धीलाई समेत पछि पार्दै ४० अर्ब डलरको कम्पनी बनेको छ ।