एएफपी- करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ । प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ आइपुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबीचको रेल आवागमन पुनः सुरु भएको सङ्केत दिएको हाे ।
प्योङयाङबाट प्रस्थान गरेको के२८ नम्बरको रेल शुक्रबार बिहान ८ः३७ बजे (००३७ जिएमटी) बेइजिङ आइपुगेको बताइएको छ । कोरोना महामारीका बेला कडा सीमा बन्द गरिएपछि सन् २०२० देखि पूर्वी एसियाका यी दुई छिमेकीबीच रेल सेवा स्थगित भएको थियो ।
चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा चिनिन्छ । त्यस्तै पृथक मानिने आणविक राष्ट्र उत्तर कोरियाका लागि चीन कूटनीतिक, आर्थिक तथा राजनीतिक समर्थनको महत्त्वपूर्ण स्रोतसमेत मानिन्छ । रेल सेवा पुनः सुरु हुनुलाई उत्तर कोरियामा विदेशीहरूको सीमित पहुँच पुनः खुल्न थालेको सङ्केतका रूपमा पनि हेरिएको छ । हालसम्म उत्तर कोरियाले सीमित व्यवस्थाअन्तर्गत केही रूसी नागरिकबाहेक अन्य विदेशी पर्यटकका लागि कडा प्रतिबन्ध लगाएको पर्यटन एजेन्सीहरूले बताएका छन् ।
दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीका अनुसार बिहीबार उक्त रेल चीन र उत्तर कोरियालाई जोड्ने यालु नदीमाथिको चीन-कोरिया मैत्री पुल पार गरेको देखिएको थियो । यही नदीले उत्तर कोरियाको सिनुइजु सहर र चीनको उत्तरपूर्वी सहर डान्डोङलाई छुट्याउँछ ।
बिहीबार बेइजिङबाट प्योङयाङतर्फ प्रस्थान गरेको के२७ नम्बरको रेलमा सवार एएफपीका पत्रकारहरूले उत्तर कोरिया जाने यात्रुका लागि मात्र केही डिब्बा आरक्षित गरिएको देखेको बताएका छन् । ती डिब्बाहरू डान्डोङमा अर्को रेलसँग जोडेर सीमापार सिनुइजुतर्फ पठाइन्छ, जसबारे टुर एजेन्सीहरूले जानकारी दिएका छन् ।
सिनुइजु पुगेपछि ती डिब्बाहरू उत्तर कोरियाली घरेलु रेलका अन्य डिब्बासँग जोडेर प्योङयाङतर्फ जाने तेस्रो रेलमार्फत अन्तिम यात्रामा पठाइने व्यवस्था गरिएको बताइएको छ ।