एजेन्सी - साउदी अरेबियाको रक्षा मन्त्रालयले देशको पूर्वी क्षेत्रमा १८ वटा ड्रोन खसालिएको दाबी गरेको छ। साउदी प्रेस एजेन्सीका अनुसार केही दिनयता प्रहार भइरहेका धेरैवटा ड्रोन बिचमै रोकेर नष्ट गरिएको हो।
यद्यपि साउदीका अधिकारीहरूले ती ड्रोन कसले प्रहार गरेका थिए भन्ने कुरा खुलाएका छैनन्। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। यसैबिच अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ।
हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।यस्तै इरानले आफूले पनि इजरायलका हाइफा, जेरुसेलम र तेल अभिभमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेको छ। इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।