एएफपी- मध्यपूर्वमा जारी युद्धका बीच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यहरूतर्फ नयाँ आक्रमण सुरु गरेको छ । साउदी अरबको तेल क्षेत्रसमेत लक्षित भएको बताइँदै गर्दा विश्व ऊर्जा बजारमा उत्पन्न अस्थिरता नियन्त्रण गर्न ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावसम्बन्धी खबरहरूले बजारलाई केही हदसम्म शान्त बनाउने प्रयास भइरहेको छ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध अहिले क्षेत्रभर फैलिएको छ । यसको प्रभाव ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्म पुगेको छ । कतिपय स्थानमा इन्धनको राशनिङ सुरु भएको छ भने विद्यालयहरू समेत बन्द भएका छन् । युद्धको आर्थिक असर, विशेषगरी ऊर्जा आपूर्तिको अवस्थाबारे छलफल गर्न जी-७ देशका नेताहरू बुधबार भिडियो सम्मेलनमार्फत बैठक बस्ने तयारीमा छन् । यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्तावबारे निर्णय गर्ने सम्भावना रहेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले मङ्गलबार होर्मुज जलडमरूमध्यमा बारुदी सुरुङ बिछ्याउन सक्ने क्षमता राख्ने इरानका जहाजमाथि प्रहार गरेको जनाएको छ । अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा इरानी डुङ्गाहरू ध्वस्त पारिएको देखिएको बताइएको छ । अमेरिकाका अनुसार विश्वको झण्डै पाँचौँ भाग तेल ओसारपसार हुने यस जलमार्ग नजिकै १६ वटा माइन बिछ्याउने जहाज नष्ट गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै यदि जलडमरूमध्यमा सुरुङ राखिएको पुष्टि भए र त्यसलाई तुरुन्त हटाइएन भने इरानले ‘पहिले कहिल्यै नदेखिएको स्तरको सैन्य परिणाम’ भोग्नुपर्ने बताए । अमेरिकी निर्वाचन नजिकिँदै गर्दा बढ्दो तेल मूल्यले ट्रम्पमाथि राजनीतिक दबाब पनि बढाइरहेको छ । मङ्गलबार कच्चा तेलको मूल्य करिब पाँच प्रतिशत बढे पनि भण्डार सार्वजनिक गर्ने सम्भावनाको खबरपछि बुधबार केही घटेको छ ।
ट्रम्पले अमेरिकी सेनाले जलडमरूमध्य हुँदै जाने तेल ट्याङ्करलाई सुरक्षा दिन सक्ने बताएका थिए । तर अमेरिकी प्रशासनले ऊर्जा मन्त्रीले यस्तो सुरक्षा व्यवस्था घोषणा गरेको भनी सामाजिक सञ्जालमा फैलिएको पोस्ट असत्य भएको स्वीकार गरेको छ । युद्धको जोखिम समुद्री यातायातमा पनि देखिएको छ । बेलायतको समुद्री सुरक्षा एजेन्सीका अनुसार बुधबार बिहान संयुक्त अरब इमिरेट्सको तट नजिक एउटा कन्टेनर जहाजलाई ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको छ । यसले क्षेत्रीय जलमार्ग अझै असुरक्षित रहेको सङ्केत गरेको छ ।
यद्यपि ट्रम्पले सोमबार युद्ध छोटो रहने दाबी गर्नुभएको थियो, तर अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले तेहरानमा अभूतपूर्व गोलीबारी हुन सक्ने चेतावनी दिएका छन् । यसैबीच इरानले युद्धविरामको कुनै सङ्केत नदिएको स्पष्ट पारेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै इरान युद्धविराम खोजिरहेको छैन भन्दै आक्रमणकारीलाई सजाय दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
इरानी सेनाले इजरायलका सहरहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जेरुसेलममा हवाई हमलाको साइरन र विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले बताएका छन् । आपतकालीन सेवाहरूले तत्काल ठूलो क्षतिको विवरण सार्वजनिक नगरे पनि तेल अभिवमा केही मानिस घाइते भएको स्थानीय टेलिभिजनले जनाएको छ । इरानको रिभोलुसनरी गार्ड्सले बहराइन र इराकी कुर्दिस्तानतर्फ पनि आक्रमण गरेको दाबी गरेको छ । कुवेतस्थित अमेरिकी सैन्य अड्डा समेत लक्षित गरिएको इरानी मिडियाले जनाएको छ, यद्यपि कुवेतले आठ वटा ड्रोन खसालेको मात्र पुष्टि गरेको छ । साउदी अरबले पनि शायबाह तेल क्षेत्रतर्फ आएका ड्रोन र ब्यालेस्टिक मिसाइलहरू अवरोध गरिएको जनाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या गरेको आक्रमणपछि यो युद्ध सुरु भएको थियो । त्यसपछि उहाँका छोरा मोजताबा खामेनीलाई उत्तराधिकारीको रूपमा नाम दिइएको छ, तर उहाँ अझै सार्वजनिक रूपमा देखिएका छैनन् । तेहरानमा बम विस्फोटको त्रास अझै कायम छ । त्यहाँकी एक महिलाले बम आक्रमणले सामान्य आवासीय भवनलाई लक्षित नगरे पनि विस्फोटको आवाजले अत्यन्त डर पैदा गरेको बताए । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च ८ सम्म युद्धमा एक हजार २०० भन्दा बढी मानिस मारिएका छन् भने १० हजारभन्दा बढी नागरिक घाइते भएका छन् । पेन्टागनका अनुसार सात अमेरिकी सैनिकको मृत्यु भएको छ र करिब १४० जना घाइते भएका छन् ।
द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर पनि फैलिएको छ । श्रीलङ्काको समुद्रमा अमेरिकी सेनाले इरानी जहाजमाथि टार्पिडो प्रहार गरेको बताइएको छ भने अस्ट्रेलियाले इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई शरण दिएको जनाएको छ । इराक र लेबनान पनि यस युद्धका प्रोक्सी मोर्चा बनेका छन् । इराकमा इरानसँग सम्बन्धित समूहले मङ्गलबार अमेरिकी आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको बताएको छ । लेबनानमा इरान समर्थित हिजबुल्लाहलाई लक्षित इजरायली हवाई र स्थल आक्रमणपछि सयौँ मानिस मारिएका छन् र लाखौँ विस्थापित भएका छन् ।
बेरुतको दक्षिणी क्षेत्रमा बुधबार नयाँ इजरायली आक्रमण भएको खबर आएको छ । दक्षिणी सहर कानामा थप पाँच जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राज्य सञ्चारमाध्यमका अनुसार मध्य बेरुतको एउटा क्षेत्रमा पनि आक्रमण भएको छ । यसअघि इरानले संयुक्त राष्ट्रसङ्घमा दिएको उजुरीमा मध्य बेरुतको समुद्री किनारस्थित होटलमा भएको आक्रमणमा आफ्ना चार कूटनीतिज्ञ मारिएको जनाएको थियो । इजरायलले भने त्यहाँ इरानको रिभोलुसनरी गाड्र्सका प्रमुख कमान्डरहरू लक्षित गरिएको दाबी गरेको छ ।
युद्धको असर विश्वभर महसुस हुन थालेको छ । संयुक्त राष्ट्र व्यापार तथा विकास एजेन्सीले इन्धन र खाद्यान्नको मूल्य बढ्दै जाँदा विश्वका कमजोर समुदाय सबैभन्दा बढी प्रभावित हुने चेतावनी दिएको छ । इजिप्टमा सरकारले इन्धनको मूल्य करिब ३० प्रतिशत बढाएपछि सर्वसाधारण चिन्तित भएका छन् । कायरोको बजारमा भेटिएकी छ सन्तानकी आमा ओम मोहम्मदले पहिले नै जीवन धान्न गाह्रो भएको भन्दै अब मानिसहरूले कसरी व्यवस्थापन गर्ने भन्नेबारे आफू चिन्तित रहेको बताए ।