- यो निर्वाचनमा रास्वपाले प्रत्यक्षमै १२५ सिटमा जित निकालेको छ भने समानुपातिकमा ५० प्रतिशत हाराहारीमा मत कायम जारी राखेको छ
- २०७९ को निर्वाचनमा ८९ सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस १७ सिटमा जित निकाल्दै प्रमुख प्रतिपक्षी बन्ने बाटोमा छ
- श्रम संस्कृति पार्टीले तीन सिट प्रत्यक्षमा जित्दा समानुपातिकमा पनि ‘थ्रेस होल्ड’ कटाउने अपेक्षा
काठमाडौं- यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्ट बहुमतसहित पहिलो दल बनाएको छ । यो निर्वाचनमा रास्वपाले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फ नै १२४ सिटमा जित निकालिसकेको छ ।
यो समाचार तयार पार्दासम्म चार स्थानको मत परिणाम आउन बाँकी नै छ, जसमा रास्वपाले एक स्थानमा अग्रता लिएको छ भने अर्को एक स्थानमा दोस्रोमा रहेर प्रतिस्पर्धा गरिरहेको छ । यसबाट पनि रास्वपाले कम्तीमा एक सिट थप्ने देखिन्छ । समानुपातिकतर्फको मतगणना चलिरहँदा रास्वपाले ५० प्रतिशत हाराहारीमा मत कायम जारी राखेको छ । यो भनेको कूल सदर मतमा ५५ जना सांसद जित्ने मत हो । यदि यसो भएमा रास्वपाले १८० सिट जित्ने निश्चित भएको छ । समानुपातिकबाट कम्तीमा ५९ सिट जितेको खण्डमा रास्वपाको दुईतिहाइ बहुमत पुग्ने अवस्था छ ।
वि.सं. २०७९ को निर्वाचनमा ८९ सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस १७ सिटमा खुम्चिँदै प्रमुख प्रतिपक्षी बन्ने बाटोमा छ । कांग्रेसले समानुपातिकमा पनि १८ सिटकै वरपर जित निकाल्ने प्रारम्भिक अनुमान देखिएको छ । यसो भएमा कांग्रेस अघिल्लो निर्वाचनभन्दा धेरै नै खुम्चिएर ३४ सिटमा चित्त बुझाउनुपर्ने अवस्थामा देखिन्छ । नेकपा एमालेले प्रत्यक्षमा नौ सिटमामात्र जित निकालेको छ । समानुपातिकमा १५ सिट वरपर जित निकाल्ने देखिन्छ । यसो भएमा एमालेको कूल सिट २४ सम्म पुग्ने देखिन्छ । यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा सात सिटमा जित निकालेको छ ।

समानुपातिकमा छ प्रतिशतको हाराहारीमा मत ल्याइरहेको नेकपाले सात सिट पाएमा १४ सिटसहित चौथो दल बन्ने देखिन्छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षमा एक सिटमात्र जितेको छ । समानुपातिकमा तीन प्रतिशत कायमै राखे राष्ट्रिय दल बन्ने निश्चित छ । केही महिना अघिमात्र गठन भएको श्रम संस्कृति पार्टीले पहिलो प्रयासमै प्रतिनिधिसभामा तीन सिट सुरक्षित गरिसकेको छ । सुनसरीको धरान उपमहानगरका पूर्वमेयर हर्क साम्पाङको उक्त दलले समानुपातिकतर्फ पनि ‘थ्रेसहोल्ड’ कटाउने सम्भावना देखाएको छ । म्याग्दीमा एक सिटमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन् । धनुषा-१ को मत परिणाम भने उम्मेदवारी खारेजीमा परेका रास्वपाका किशोरी साहको मत धेरै आएपछि निर्वाचन आयोगले ‘होल्ड’मा राखेको छ ।
यी हुन् रास्वपाबाट विजयी १२४ सांसद
रास्वपा यो निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको छ । रास्वपाले यो निर्वाचनमा प्रत्यक्षतर्फ १२४ क्षेत्रमा जित निकालेको छ । कोशी प्रदेशबाट झापाका पाँचै क्षेत्रमा रास्वपाले जित निकालेको छ । झापा-१ मा निशा डाँगी, झापा-२ मा इन्दिरा राना मगर, झापा-३ बाट प्रकाश पाठक, झापा-४ बाट शम्भुप्रसाद ढकाल र झापा-५ बाट बालेन्द्र शाह निर्वाचित भएका छन् ।
मोरङका छ वटा क्षेत्र पनि रास्वपाले ‘क्लिनस्विप’ गरेको छ । मोरङ-१ बाट यज्ञमणि न्यौपाने, मोरङ-२ बाट कृष्णकुमार कार्की, मोरङ-३ बाट गणेश कार्की, मोरङ-४ बाट सन्तोष राजवंशी निर्वाचित भएका छन् । यसैगरी मोरङ-५ बाट आशा झा र मोरङ-६ बाट रुबिना आचार्य निर्वाचित भएका छन् ।
सुनसरी-२ मा लालविक्रम थापा, सुनसरी-३ मा अशोककुमार चौधरी र सुनसरी-४ मा दीपककुमार साह निर्वाचित भएका छन् । ओखलढुंगामा विश्वराज पोखरेल, उदयपुर-१ बाट पारसमणि गेलाल र उदयपुर-२ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । मधेसमा रौतहट-२ र धनुषा-१ बाहेक अरु क्षेत्रमा रास्वपाले ‘क्लिनस्विप’ गरेको छ । सप्तरी-१ बाट पुष्पाकुमारी चौधरी, सप्तरी-२ बाट रामजी यादव, सप्तरी-३ बाट अमरकान्त चौधरी, सप्तरी-४ बाट सिताराम साह निर्वाचित भएका छन् । सिरहा-१ बाट पूर्वमन्त्री बब्लु गुप्ता, सिरहा-२ बाट शिवशंकर यादव, सिरहा-३ बाट शम्भुकुमार यादव, सिरहा-४ बाट तपेश्वर यादव निर्वाचित भएका छन् ।
धनुषा-१ को मत गणना जारी छ । उम्मेदवारी खारेजीमा परेका रास्वपाका किशोरी साहको मत धेरै आएपछि निर्वाचन आयोगले यहाँको परिणाम ‘होल्ड’मा राखेको छ । धनुषा-२ मा रामविनोद यादव, धनुषा-३ मा रास्वपाका प्रवक्ता मनिष झा र धनुषा-४ मा राजकिशोर महतो निर्वाचित भएका छन् । महोत्तरी-१ मा प्रमोदकुमार महतो, महोत्तरी-२ मा दीपककुमार साह, महोत्तरी-३ मा उज्जवलकुमार झा र महोत्तरी-४ मा गौरी कुमारी निर्वाचित भएका छन् ।
यता सर्लाही-१ मा नीतिमा भण्डारी, सर्लाही-२ मा रविन महतो, सर्लाही-३ मा नरेन्द्र साह कलवार, सर्लाही-४ मा अमरेशकुमार सिंह निर्वाचित भएका छन् । रौतहट-१ मा रोजशकुमार चौधरी, रौतहट-३ मा रविन्द्र पटेल, रौटहट-४ मा गणेश पौडेल निर्वाचित भएका छन् । बारा-१ मा गणेश धिमाल, बारा-२ मा चन्दनकुमार सिंह, बारा-३ मा अरबिन्द साह, बारा-४ मा रहवर अन्सारी निर्वाचित भएका छन् । पर्सा-१ मा बुद्धिप्रसाद पन्त, पर्सा-२ मा सुशीलकुमार कानु, पर्सा-३ मा रामाकान्त प्रसाद चौरसिया र पर्सा-४ मा टेकबहादुर शाक्य निर्वाचित भएका छन् ।
बागमतीमा रास्वपाले लगभग ‘क्लिनस्विप’ गरेको छ । काठमाडौं-१ मा रञ्जु दर्शना न्यौपाने, काठमाडौं-२ मा सुनिल केसी, काठमाडौं-३ मा राजु पाण्डे, काठमाडौं-४ मा पुकार बम, काठमाडौं-५ मा सस्मित पोखरेल, काठमाडौं-६ मा शिशिर खनाल, काठमाडौं-७ मा गणेश पराजुली, काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं-९ मा डोलप्रसाद अर्याल र काठमाडौं-१० मा प्रदीप विष्ट निर्वाचित भए । भक्तपुर-१ मा रुकेश रञ्जित र भक्तपुर-२ मा राजीव खत्री निर्वाचित भए । ललितपुर-१ मा बुद्धरत्न महर्जन, ललितपुर-२ मा जगदीश खरेल, ललितपुर-३ मा डा. तोसिमा कार्की निर्वाचित भएका छन् ।
चितवन-१ मा हरि ढकाल, चितवन-२ मा रास्वपाका सभापति रवि लामिछाने र चितवन-३ मा सोविता गौतमले जितेका छन् । नुवाकोट- १ मा विक्रम तिमिल्सिना, नुवाकोट-२ मा अच्युतम लामिछाने निर्वाचित भए । धादिङ-१ मा आशिका तामाङ, धादिङ-२ मा रास्वपाकै बोधनारायण श्रेष्ठ निर्वाचित भए । मकवानपुर-१ मा प्रकाश गौतम, मकवानपुर-२ मा प्रशान्त उप्रेती, सिन्धुली-१ मा धनेन्द्र कार्की, सिन्धुली-२ आशिष गजुरेल निर्वाचित भए । रामेछापमा कृष्णहरि बुढाथोकी, दोलखामा जगदीश खरेल, काभ्रे-१ मा मधुप्रसाद चौलागाईं, काभ्रे-२ मा बदनकुमार भण्डारी, सिन्धुपाल्चोक-१ मा भरत चौलागाईं निर्वाचित भए ।
गण्डकीका अधिकांश क्षेत्रमा रास्वपाले जित निकालेको छ । गोरखा-१ मा सुधन गुरुङ जित नजिक छन् । गोरखा-२ मा कबिन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । लमजुङमा धर्मराज केसी, कास्की-१ मा खडकराज पौडेल, कास्की-२ मा उत्तम पौडेल, कास्की-३ मा बिना गुरुङ निर्वाचित भएका छन् । तनहुँ-१ मा स्वर्णिम वाग्ले, तनहुँ-२ मा श्रीराम न्यौपाने, स्याङजा-१ मा धनञ्जय रेग्मी र स्याङजा-२ मा झविलाल डुम्रे निर्वाचित भएका छन् । नवलपरासी-१ मा राजन गौतम र नवलपरासी २ मा मनिष खनालले जिते ।
बागलुङ-१ मा सुशील खड्का, बागलुङ-२ मा सोम शर्मा, पर्वतबाट सागर भुसाल निर्वाचित भएका छन् । गुल्मी-१ बाट सागर ढकाल, गुल्मी-२ बाट गोविन्द पन्थी, पाल्पाबाट माधव थापा, अर्घाखाँचीबाट हरिप्रसाद भुसाल निर्वाचित भएका छन् । रुपन्देहीका पाँचै क्षेत्रमा रास्वपाले जित निकालेको छ । रुपन्देही-१ मा सुनिल लम्साल, रुपन्देही-२ मा सुलभ खरेल, रुपन्देही-३ मा डा. लेखजंग थापा, रुपन्देही-४ मा कन्हैया बनियाँ र रुपन्देही-५ मा तौफिक अहमद खान निर्वाचित भएका छन् । कपिलवस्तु-१ मा मोहनलाल आचार्य, कपिलवस्तु-२ मा विक्रम थापा निर्वाचित भएका छन् ।
प्युठानमा सुशान्त वैदिक निर्वाचित हुँदा दाङ-१ मा देवराज पाठक, दाङ-२ मा विपिन आचार्य र दाङ-३ मा कमल सुवेदी निर्वाचित भए । बाँके-१ मा सुरेशकुमार चौधरी र बाँके-२ मा खगेन्द्र सुनार निर्वाचित हुँदा बर्दिया-१ मा ठाकुरसिंह थारु र बर्दिया-२ मा श्रीधर पोखरेल निर्वाचित भएका छन् । नवलपुर-१ बाट विक्रम खनाल, नवलपुर २ बाट नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन् ।
कर्णालीमा रास्वपाबाट सुर्खेत क्षेत्र-२ मा रमेशकुमार सापकोटामात्र निर्वाचित भएका छन् । सुदूरपश्चिममा कैलालीका पाँचवटै क्षेत्रमा रास्वपाले जित निकाल्न सफल भयो । कैलाली-१ मा कोमल ज्ञवाली, कैलाली-२ मा केपी खनाल, कैलाली-३ मा जगतप्रसाद जोशी, कैलाली-४ मा खेमराज कोइराला र कैलाली-५ मा आनन्दबहादुर चन्द विजयी भए । बैतडीमा हरिमोहन भण्डारी, डडेलधुरामा ताराप्रसाद जोशी विजयी भए । कञ्चनपुर-१ मा जनकसिंह धामी, कञ्चनपुर-२ मा दीपक बोहरा र कञ्चनपुर-३ मा ज्ञानेन्द्रसिंह महता विजयी भए ।
कांग्रेसले जितेका १७ स्थान
नेपाली कांग्रेसले प्रत्यक्षमा १७ सिट जितेको छ । मुगुबाट खड्ग शाही, बाजुराबाट जनकराज गिरी, रौतहट-२ बाट मोहमद फिरदोश आलम, पाँचथरबाट नरेन्द्रकुमार केरुङ, पाल्पा-१ मा सन्दीप राना, कपिलवस्तु-३ बाट अभिषेकप्रताप शाह, जाजरकोटमा खड्कबहादुर बुढा, डोटीमा भारतबहादुर खड्का, अछाम-१ मा भरतकुमार स्वाँर, दैलेख-१ मा बासना थापा, सुर्खेत-१ मा विष्णुबहादुर खड्का विजयी भएका छन् ।
मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली, रसुवामा मोहन आचार्य, तेह्रथुममा सन्तोष, सोलुखुम्बुमा प्रकाशसिंह कार्की निर्वाचित भएका छन् । हुम्लाबाट जयपति रोकाय निर्वाचित भएका छन् । इलाममा भने श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ, कांग्रेसका निस्कल राई र एमालेका काजीमान कागते कसले जित्ने भन्ने तीव्र प्रतिस्पर्धा भइरहेको छ ।
एमाले आठ सिटमा जित, एकमा अग्रता
नेकपा एमालेबाट आठ जनामात्र निर्वाचित भएका छन् । गणना जारी रहेका ठाउँमा पनि एक क्षेत्रमामात्र अग्रता छ । एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम-२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् । लुम्बिनीमा बाँके-२ बाट मो. इश्तियाक राई, कर्णालीमा दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिममा बझाङबाट ऐनबहादुर मगर र दार्चुलाबाट गणेशसिंह ठगुन्ना, अछाम-२ बाट यज्ञ बोगटी निर्वाचित भएका छन् । संखुवासभामा झिनो मतले एमालेका उम्मेदवार अगाडि छन् ।
नेकपा विजयी सात सिट
प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ जम्मा सात सिट जितेको छ । नेकपाले रोल्पा, सल्यान, सिन्धुपाल्चोक-२, कालीकोट, रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पामा विजय हासिल गरेको हो । पार्टीका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट १० हजार २४० मतका साथ विजयी भए । यस्तै नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६०, सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुँदा सिन्धुपाल्चोक-२ बाट युवराज दुलालले २१ हजार ६९९ मत प्राप्त गरे ।
यसैगरी रुकुम पश्चिममा गोपाल शर्मा २१ हजार ६०९ मतका साथ विजयी हुँदा कालीकोटबाट महेन्द्रबहादुर शाही ११ हजार ७३९ मतका साथ विजयी भए । यस्तै डोल्पाबाट धनबहादुर बुढा छ हजार ८०२ मतका साथ विजयी भए ।
श्रम संस्कृति पार्टी तीन सिट
गएको कात्तिकमा दर्ता भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन स्थानमा जित हासिल गरेको छ । श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ सुनसरी-१, महासचिव आरेन राई खोटाङ र ध्रुवराज राई भोजपुरबाट निर्वाचित भएका हुन् । धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गत असोजमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले कात्तिक १६ गते दल दर्ताको प्रमाणपत्र दिएको थियो ।
ज्ञानेन्द्र शाहीले जोगाए राप्रपाको दुमो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो निर्वाचनमा प्रत्यक्षबाट एक सिटमात्र जित निकाल्यो । राप्रपाबाट उम्मेदवार बनेका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही जुम्लाबाट निर्वाचित भएका हुन् ।
शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा भण्डारीले ११ हजार ६३५ मतमा रोकिए । कांग्रेसका उमेदवार दीपबहादुर शाहीले सात हजार १४३ मत पाउँदा एमालेका उमेदवार शान्तिलाल महत चार हजार ५१८ मतसहित चौथो स्थानमा रहे । यहाँ रास्वपाकी उमेदवार विनिता कठायतले ४२१ मत मात्र प्राप्त गरिन् ।
स्वतन्त्रमा एक्ला महावीर पुन
त्रिभुज चुनाव चिह्न पाएर स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव भिडेका महावीर पुन म्याग्दीबाट निर्वाचित भएका हुन् । उनी शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा गएका थिए । उनलाई रास्वपालगायत दलहरुको समर्थन थियो ।
२२ हजार ८५० मतका साथ उनी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरे ।
प्रत्यक्षबाट १४ महिला निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ सिटमध्ये १४ सिटमा महिला उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी चारवटै क्षेत्रमा महिला उम्मेदवारहरूको अग्रता वा निकटतम प्रतिद्वन्द्विता छैन । महिला निर्वाचित भएको यो संख्या प्रत्यक्षतर्फको कूल सिटमध्ये ८.४८ प्रतिशत हो । यसले प्रत्यक्षतर्फ महिला प्रतिनिधित्व निकै कम भएको देखाउँछ ।
निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार ४०४ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये ३९६ जना महिला उम्मेदवार थिए । दलगत तथा स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका यी महिला उम्मेदवारमध्ये १४ जनामात्रै विजयी हुन सफल भएका छन् । यसमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का छन् । एक जना नेपाली कांग्रेसकी हुन् ।
रास्वपाले प्रत्यक्षतर्फ १७ जना महिला उम्मेदवार उठाएको थियो, जसमा १३ जना विजयी भए । रास्वपाबाट विजयी हुने महिला उम्मेदवारहरूमा झापा-२ बाट इन्दिरा रानामगर, चितवन-३ बाट सोविता गौतम, मोरङ-६ बाट रुविना आचार्य, झापा-१ बाट निशा डाँगी, सर्लाही-१ बाट नीतिमा भण्डारी कार्की, ललितपुर-३ बाट डा. तोसिमा कार्की, धादिङ-१ बाट आशिका तामाङ, सप्तरी-१ बाट पुष्पाकुमारी चौधरी, कास्की-३ बाट बिना गुरुङ, मोरङ-५ बाट आशा झा, कैलाली-१ बाट कोमल ज्ञवाली र काठमाडौं-१ बाट रञ्जु दर्शना न्यौपाने छन् ।
दैलेख-१ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवारको उपस्थिति उल्लेख्य भए पनि जित्ने संख्या भने निकै कम रहेको देखिएको छ । यसले राजनीतिक दलहरूले उम्मेदवारी दिने क्रममा महिलालाई सीमित अवसर दिने तथा प्रतिस्पर्धात्मक क्षेत्रमा कम प्राथमिकता दिने प्रवृत्ति अझै कायम रहेको विश्लेषकहरू बताउँछन् ।
जबकि, संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व गर्नैपर्ने संवैधानिक प्रावधान छ । यसले गर्दा अब झण्डै २५ प्रतिशत महिला सांसद समानुपातिक प्रणालीबाट छनोट गर्नुपर्ने बाध्यता दलहरूलाई परेको छ ।
समानुपातिकमा रास्वपाको अग्रता
समानुपातिक निर्वाचन प्रणालीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । यो समाचार तयार पार्दासम्म कूल ६३ लाख १८ हजार ५५७ मतगणना हुँदा रास्वपाले ३० लाख ८८ हजार बढी मत पाएको छ । यो कूल मतको ४९ प्रतिशत हो । कांग्रेसले १० लाख ४२ हजारभन्दा बढी मत कटाएको छ, यो कूल मतको १६ प्रतिशत हो । एमालेले नौ लाखको आसपासमा आफ्नो मत बढाएको छ । यो कूल मतको १४ प्रतिशत हो ।
नेकपाले चार लाख ४० हजारको नजिक पु¥याएको छ । यो कूल मतको छ प्रतिशत हो । राप्रपाले दुई लाख २० हजारभन्दा बढी मत बनाएको छ । श्रम संस्कृतिले एक लाख ७६ हजार ३४९ मत बनाएको छ । पछिल्लो मतगणनाअनुसार जनता समाजवादी पार्टीले ८४ हजार मत कटाउँदा राष्ट्रिय परिवर्तन पार्टीले ७३ हजार मत कटाएको छ ।