एएफपी- भेनेजुएलामा नयाँ आममाफी कानून लागू भएपछि राजधानी काराकासस्थित जेलबाट १७ जना राजनीतिक बन्दी रिहा भएका छन् । पत्रकारहरूले शनिबार उक्त रिहाइको दृश्य प्रत्यक्ष देखेका थिए । गत महिना पारित गरिएको यो ऐतिहासिक कानूनलाई डेल्सी रोड्रिगेजले अघि बढाएका हुन ।
उनी पूर्व राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि सत्ता सम्हाल्दै आएको बताइएको छ । मानवअधिकार संस्था फोरो पेनालका अनुसार, मादुरो पदच्युत भएयता हालसम्म ६२१ भन्दा बढी राजनीतिक बन्दीहरू रिहा भइसकेका छन् । तर, अझै करिब ५०० जना बन्दी जेलमा छन् ।
बन्दीका परिवारहरूले लामो समयदेखि रिहाइको माग गर्दै आएका थिए । केही महिलाहरूले झन्डै एक हप्ता लामो अनशन गरे भने केही परिवारले जेलको गेटमा साङ्लो लगाएर विरोध प्रदर्शन गरे । कतिपयले हप्तौँसम्म टेन्टमा बसेर आन्दोलन गरेका थिए । रिहा भएका राजनीतिक कार्यकर्ता ओमर टोरेसले स्वतन्त्र भएपछि आफू अत्यन्त खुसी लागेको बताए । उनले भने“अहिले कसैलाई दोष दिने समय होइन, स्वतन्त्र भएकोमा खुशी छु ।”
सरकारका अनुसार जेल र परोलमा रहेका गरी ७ हजारभन्दा बढी मानिसलाई स्वतन्त्रता प्रदान गरिएको छ । तर काराकासको जोन ७ जेलबाट छुटेका बन्दीहरूले आफ्नो पूर्ण स्वतन्त्रता सुनिश्चित गर्न अदालतमा उपस्थित हुनुपर्ने छ । पूर्व सांसद फर्नान्डो ओरोस्कोका छोरा ब्रायन ओरोस्कोले बाँकी राजनीतिक बन्दीहरूको रिहाइका लागि प्रयास जारी रहने बताए । रिहाइको क्रममा बाहिर ‘स्वतन्त्रता, स्वतन्त्रता’ भन्ने नारासहित खुशी र भावुक दृश्य देखिएको थियो ।