कोलम्बो- श्रीलंका सरकारले उद्धार गरिएका २२ जना इरानी नाविकहरूलाई अस्पतालबाट रिहा गरेको छ । उनीहरूलाई अमेरिकी पनडुब्बीद्वारा डुबाइएका युद्धपोतबाट बचाइएका थिए ।नाविकहरूलाई गालेस्थित करापितिया अस्पतालमा बुधबारदेखि उपचार दिइएको थियो ।
अस्पतालका एक मेडिकल अधिकारीका अनुसार, १० जना अझै उपचाररत छन् । यसै क्रममा, भारतीय महासागरबाट उद्धार गरिएका ८४ इरानीको शव पनि अस्पतालमा रहेको छ ।रिहा भएका नाविकहरूलाई सोही जिल्लाको एक समुद्री रिसोर्टमा राखिएको छ । श्रीलकाली अधिकारीहरूले बचाइएका सबैलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअनुसार हेरिएको जानकारी दिएका छन् ।
सरकारले यसका लागि अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग पनि सम्पर्क गरेको छ ।श्रीलंका अर्को इरानी युद्धपोतबाट आएका २१९ जना नाविकलाई पनि सुरक्षित आश्रय प्रदान गर्दै आएको छ । उनीहरूलाई कोलम्बो उत्तरको नौसेना शिविरमा राखिएको छ र सो जहाज श्रीलंका नौसेनाले नियन्त्रणमा लिएको छ ।
श्रीलंका सरकारले दोस्रो जहाजलाई उत्तर–पूर्वी बन्दरगाह पुर्याउने योजना बनाएको भए पनि इञ्जिनमा समस्या र प्रशासनिक कारणले ढिलाइ भएको नौसेनाले जनाएको छ । कोलम्बोले विदेशी दबाबमा इरानी नाविकहरूलाई घर फर्कन नदिएको भन्ने आरोप अस्वीकार गर्दै, श्रीलंका केवल अन्तर्राष्ट्रिय कानून र आफ्नै कानुनअनुसार काम गर्ने स्पष्ट पारेको छ ।अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा श्रीलंका सरकारको सार्वभौमिकता सम्मान गर्ने जनाएको छ ।
यसैबीच, भारतले अर्को इरानी युद्धपोतलाई ‘मानवीय’ कारण देखाउँदै आफ्नो बन्दरगाहमा प्रवेश गर्न अनुमति दिएको थियो । भारतीय विदेश मन्त्रीका अनुसार, जहाजमा धेरै युवा क्याडेटहरू थिए र उनीहरूलाई नजिकैको सुविधाजनक स्थानमा राखिएको छ ।ती तीनवटा युद्धपोतहरू भारतले आयोजना गरेको बहुराष्ट्रिय नौसेना समीक्षा कार्यक्रममा सहभागी थिए, जुन मध्यपूर्व युद्ध सुरु हुनु अघि सम्पन्न भएको थियो ।