एएफपी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रह अस्वीकार गर्दै आफ्नो देशको विमान र सैन्य आधार इरानमाथि आक्रमणका लागि प्रयोग गर्न नदिने घोषणा गरेका छन् । उनले टेलिभिजन सम्बोधनमा स्पष्ट रूपमा ‘हामी युद्धमा संलग्न हुने छैनौँ’ भन्दै प्रतिशोधको डरले विश्वका लागि हानिकारक कुनै कदममा स्पेन संलग्न नहुने जोड दिएका हुन्।
उनले भने, “हामी यस विपत्तिको विरोध गर्छौं ।” उनले आफ्नो दृष्टिकोण युरोप, उत्तर अमेरिका र मध्यपूर्वका लाखौँ नागरिकहरूसँग साझा भएको बताए, जसले थप युद्ध वा अनिश्चितता चाहँदैनन् । यसअघि मङ्गलबार ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट्दा ट्रम्पले स्पेनलाई ‘डरलाग्दो’ सहयोगी भनेका थिए । सान्चेजले ट्रम्पको मागअनुसार रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतमा बढाउने प्रतिज्ञा गर्न अस्वीकार गरेको पनि औँल्याए । संयुक्त राज्य अमेरिकाले गठबन्धनको बोझ धेरै काँधमा बोकेको ट्रम्पले बारम्बार उल्लेख गरे।
सान्चेजको वामपन्थी सरकारले गाजामा इजरायलको युद्धको कडा विरोध, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण र पक्राउ गर्ने सैन्य कारबाहीको आलोचना र अन्य नीतिहरूले वासिङ्टनको रिस बढाएको छ । स्पेनको रोटा नौसेना आधार र मोरोन हवाई आधार अमेरिकी सेनाको प्रयोगमा छ । सन् २००३ मा इराकमाथि आक्रमण हुँदा तत्कालीन कन्जरभेटिभ प्रधानमन्त्री जोस मारिया आजनारको नेतृत्वमा स्पेनले अमेरिकी आक्रमणलाई दृढ समर्थन गरेको थियो ।