काठमाडौं- नेपाल पर्यटन बोर्ड (एनटिबी)ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सन् २०२६ को फेब्रुअरी महिनामा नेपालमा कुल १ लाख ५ हजार ४४१ अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ ।अध्यागमन विभागलाई आधार मान्दै बोर्डले उपलब्ध गराएको उक्त तथ्यांक अनुसार फेब्रुअरी महिनामा नेपाल आउने शीर्ष १० देशहरुमध्ये भारत पहिलो स्थानमा छ ।
भारतबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । भारतबाट २२ हजार ७४५ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ११.२ प्रतिशत हो । त्यसैगरी अन्य प्रमुख पर्यटकीय स्रोतहरुमा चीन, संयुक्त राज्य अमेरिका, श्रीलंका, म्यानमार, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेश र जर्मनी रहेका छन् ।
तथ्यांकअनुसार जर्मनीबाट ५ हजार ६१८ जना, श्रीलंकाबाट ६ हजार ०३५ जना, बेलायतबाट ४ हजार १२६, अष्ट्रेलियाबाट ३ हजार ६३८ जना, थाइल्याण्डबाट ३ हजार २१२ जना, बंगलादेशबाट २ हजार ८५० जना, चीनबाट ९ हजार ७१० जना र संयुक्त राज्य अमेरिकाबाट १० हजार ८१६ जना नेपाल आएका छन् ।क्षेत्रगत वितरण अनुसार क्षेत्रगत आधारमा हेर्दा दक्षिण एशिया (सार्क राष्ट्रहरू)बाट सबैभन्दा बढी ३५ हजार ३४८ (३३.५ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
त्यसपछि अन्य एसियाली मुलुकहरूबाट २९ हजार ८५७ (२८.३ प्रतिशत), युरोपबाट १७ हजार ४९३ (१६.६ प्रतिशत ), ओसेनियाबाट ७ हजार ९५५ (७.५%), मध्यपूर्वबाट १ हजार ६८० (१.६ प्रतिशत ), अफ्रिकाबाट ९४९ (०.९ प्रतिशत) र अमेरिकाबाट ३४४ (०.३ प्रतिशत ) पर्यटक आगमन भएको उल्लेख छ ।पर्यटन क्षेत्रमा छिमेकी मुलुक भारत र चीनबाट उच्च संख्यामा आगमन रहनुले नेपालका धार्मिक, साहसिक तथा प्राकृतिक गन्तव्यप्रति आकर्षण बढिरहेको संकेत गर्दछ ।