एएफपी- रुसले युक्रेनमाथि नयाँ आक्रमणको लहर सुरु गरेकै दिन अमेरिका र युक्रेनबीच चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप जेनेभामा नयाँ चरणको वार्ता सुरु हुने भएको छ । कूटनीतिक पहल अघि बढिरहे पनि युद्धभूमिमा हिंसा नरोकिएको सन्दर्भमा यी बैठकहरू हुँदैछन् ।
यस चरणको वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभ र अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ तथा जारेड कुसनर सहभागी हुनुहुनेछ । मार्चको सुरुमा रुससमेत सहभागी हुने पूर्ण त्रिपक्षीय बैठकको अपेक्षा गरिएको छ । रुसी समाचार एजेन्सी तासका अनुसार क्रेमलिनका आर्थिक मामिलासम्बन्धी दूत किरिल दिमित्रीभ पनि अमेरिकी प्रतिनिधिसँग आर्थिक विषयमा छलफल गर्न जेनेभा पुग्ने तयारीमा रहेका छन् ।
यी प्रयासहरू ट्रम्प प्रशासनको पहलमा अघि बढाइएको वार्ताको पछिल्लो चरण हुन्, जसले अहिलेसम्म दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक द्वन्द्व अन्त्य गर्न ठोस उपलब्धि हासिल गर्न सकेको छैन । वासिङ्टनले सन् २०२२ मा सुरु भएको रुसको पूर्ण आक्रमणबाट जन्मिएको युद्ध अन्त्य गर्न निरन्तर दबाब दिँदै आएको छ । यस द्वन्द्वमा लाखौँ मानिसको ज्यान गएको छ भने विशेष गरी पूर्वी र दक्षिणी युक्रेनका भूभागमा व्यापक विनाश भएको छ ।
वार्ताको केही घण्टा अघिमात्रै रुसी सेनाले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण तीव्र बनाएको थियो । एएफपीका पत्रकारहरूले मध्य किएभमा विस्फोटका आवाज सुनेका छन् । युक्रेनी वायु सेनाले राजधानीतर्फ तीव्र गतिमा वस्तुहरू अघि बढिरहेको जनाएको थियो भने किएभको सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार रुसले ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गरिरहेको बताए । खार्किव, जापोरिझिया र ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि आक्रमण भएको र खार्किवमा मात्र सात जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेका थिए । करिब ३० मिनेटको उक्त संवादमा विटकफ र कुसनर पनि सहभागी थिए । जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जेनेभामा हुने द्विपक्षीय बैठकका एजेन्डा र मार्चमा हुने सम्भावित त्रिपक्षीय वार्ताको तयारीबारे छलफल भएको जानकारी दिए । उनले यी चरणहरूले अन्ततः नेताहरूको स्तरमा प्रत्यक्ष वार्ताको मार्ग खोल्ने अपेक्षा व्यक्त गरे।
युक्रेनी पक्षले दीर्घकालीन सुरक्षा प्रत्याभूति बिना कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने अडान दोहोर्याएको छ । गत वर्ष सार्वजनिक गरिएको अमेरिकी योजनाअनुसार वार्ताको मुख्य अवरोध पूर्वी युक्रेनको औद्योगिक क्षेत्र डोनबासको भविष्यबारे रहेको छ । रुसले डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणको माग गर्दै आएको छ र वार्ताबाट सहमति ननिस्के बल प्रयोग गर्ने चेतावनी दिएको छ । किएभले भने उक्त माग अस्वीकार गर्दै रुसलाई पुनः आक्रमण गर्नबाट रोक्ने स्पष्ट सुरक्षा संयन्त्र अपरिहार्य रहेको बताएको छ ।