राजविराज- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताउनुभएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पथरगाडामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयताको जननी नै मधेश प्रदेश भएकाले मधेशको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको स्मरण गराए ।
“संघीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,” सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आज मतदातालाई सम्बोधन गर्दै भने, “तर मधेश जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।” सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले संघीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्ति संघीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।
“मुलुकमा संंघीयता धानिएकै मधेश प्रदेशको दृढ अडानको कारणले हो । मधेशले आवाज उठाएन भने संघीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेश सधैँ अग्रपङ्क्तिमा उभिएको छ,” अध्यक्ष यादवले भने । मधेशको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः संघीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट पार्दै भने, “मधेश कमजोर भयो भने संघीयता रहँदैन । त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको आवश्यकता हो ।”