एएफपी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन सम्झौतामा झुकेको छैन भन्ने प्रश्न उठाउनुभएको अमेरिकी दूत स्टिभ विटकफले बताएका छन्। आणविक सम्झौताबारे दबाब बढाइरहेका ट्रम्पले इरानले वासिङ्टनको चेतावनीलाई गम्भीर रूपमा किन नलिएको भन्ने जिज्ञासा व्यक्त गरेकाे उनले खुलासा गरे ।
ओमानको मध्यस्थतामा संयुक्त राज्य अमेरिका र इरानबीच जेनेभामा वार्ता पुनः सुरु भइरहेका बेला वासिङ्टनले क्षेत्रमा दुई विमानवाहक पोत, लडाकू जेट र अतिरिक्त हतियार पठाएर आफ्नो चेतावनीलाई बलियो बनाएको छ । यसै सन्दर्भमा फक्स न्युजमा ट्रम्पकी बुहारी लारासँगको अन्तर्वार्तामा विटकफले राष्ट्रपति इरानको अडानप्रति ‘उत्सुक’ रहेको बताए ।
“म ‘निराश’ शब्द प्रयोग गर्न चाहन्नँ, किनकि उहाँसँग धेरै विकल्प छन् भन्ने उहाँ बुझ्नुहुन्छ”, विटकफले भने, “तर उहाँ उत्सुक हुनुहुन्छ-उनीहरूले किन आत्मसमर्पण गरेनन् ?” उgले ‘आत्मसमर्पण’ शब्द प्रयोग गर्न हिच्किचाए पनि तीव्र सैन्य उपस्थिति र समुद्री शक्तिको दबाबका बीच इरान किन वार्तामा निर्णायक रूपमा अघि नबढेको भन्ने प्रश्न राष्ट्रपति उठाहेको उल्लेख गरे । “किन उनीहरू हामीकहाँ आएर ‘हामीलाई हतियार चाहिँदैन, हामी यस्तो गर्न तयार छौँ’ भनेर भन्दैनन् ?” उनले प्रश्न गरे ।
अन्तर्वार्तामा विटकफले सन् १९७९ को इस्लामिक क्रान्तिपछि देश फर्कन नपाएका पूर्वयुवराज रेजा पहलवीसँग राष्ट्रपतिको निर्देशनमा भेट गरेको पुष्टि गरे, तर विस्तृत विवरण दिएनन् । गत साता अमेरिकास्थित पहलवीले म्युनिखमा ट्रम्पद्वारा शासन परिवर्तन इरानका लागि उपयुक्त हुनसक्ने चर्चा भइरहेका बेला आफू ‘धर्मनिरपेक्ष लोकतान्त्रिक भविष्य’ का लागि देशको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।
विटकफको टिप्पणी इरानी विदेशमन्त्री अब्बास अराघचीले वासिङ्टनसँग सम्भावित सम्झौताको मस्यौदा प्रस्ताव केही दिनभित्र तयार हुने सङ्केत दिएको पृष्ठभूमिमा आएको हो । ट्रम्पले बिहीबार इरानलाई आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूमा सहमति जनाउन अधिकतम १५ दिनको समयसीमा दिएका थिए ।
जेनेभामा वार्ता जारी रहँदा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले मङ्गलबार ट्रम्प इस्लामिक गणतन्त्रलाई नष्ट गर्न सफल नहुने बताएका थिए । पश्चिमी मुलुकहरूले इरानमाथि आणविक हतियार विकास गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन्, जसलाई तेहरानले अस्वीकार गर्दै नागरिक प्रयोजनका लागि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहेको दाबी गर्दै आएको छ ।
इरानले आर्थिक प्रतिबन्धका कारण अर्थतन्त्रमा परेको ठूलो दबाब अन्त्य गर्न वार्ता चाहेको बताउँदै आएको छ । तेहरानले डिसेम्बरमा भएको सरकारविरोधी प्रदर्शनमा बाह्य शक्तिको भूमिका रहेको आरोप लगाउँदै आएको छ । यी सबै घटनाक्रमबीच ट्रम्प प्रशासनको कडा अडान र इरानको प्रतिरोधी प्रतिक्रिया आगामी दिनमा वार्ताको दिशानिर्देशन गर्ने निर्णायक तत्व बन्न सक्ने देखिएको छ ।