काठमाडौं- नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ सङ्कल्पमा अघि बढिरहेको बताएका हुन् ।
उनले राष्ट्र निर्माणको अभियानमा सहभागी भई लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।
कांग्रेसले हालको संक्रमणको घडीमा, वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने, समाजका विभिन्न प्रतिष्ठित पेसा–चिकित्सा, शिक्षा, कानुन, उद्योग, सूचना-प्रविधि, कृषि, श्रम तथा नागरिक समाजका क्षेत्रमा सक्रिय भई राजनीतिक पृष्ठभूमिसँग जोडिएर समाज रूपान्तरणमा योगदान गर्न चाहनुहुने सम्पूर्णलाई सहयोगका लागि आह्वान गरेको छ ।
“कांग्रेस सधैँ विचार, विवेक र प्रतिबद्धताको सङ्गम भएको लोकतान्त्रिक मञ्च हो, यहाँ व्यक्तिको क्षमताभन्दा संस्थागत मूल्यलाई प्राथमिकता दिइन्छ । पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई अवलम्बन गरिन्छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो विश्वास छ”, विज्ञप्तिमा भनिएको छ ।