- कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा र एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखन अन्तिम चरणमा
- नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा र रास्वपाले डा स्वर्णिम वाग्लेको नेतृत्वमा घोषणापत्र लेख्दै
- एमाले लोकतन्त्रलाई लयमा ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीजस्ता पुरानै एजेण्डा अघि सार्दै, कांग्रेससहित अरु दल भने यथार्थवादी नारा तय गर्दै
काठमाडौं- फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो धाउन थालेका छन् । उम्मेदवारहरुले आफ्नै शैलीको नारासमेत तयार गरिसकेका छन् ।
दलहरुले भने घोषणापत्र तयार नपार्दा उनीहरु खाली हात मत मागिरहेका छन् । निर्वाचनमा एजेण्डा नै पहिलो विषय भन्दै मतदाताले भने घोषणापत्र खोजेका छन् । घोषणपत्र लेखनमा के गर्दै छन् त दलहरु । प्रमुख दल नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र लेख्न सुरु गरिसकेको जनाएको छ ।
मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले घोषणापत्र लेखन सुरु भएको जनाएको हो । कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन-१०’ समेटिने पार्टी प्रवक्ता देवराज चालिसेले बताए । घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने उनले बताएका छन् ।
कांग्रेसले गर्न सक्ने क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्ने छ ।
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस
गगन नेतृत्वमा पहिलोपटक आउन लागेको घोषणापत्रका लागि विज्ञहरुसँग छलफल लिइसकेको प्रवक्ता चालिसेको भनाइ छ । उनले कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नभइ यथार्थपरक रहने बताए । ‘कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्टरूपमा उल्लेख गरिने छ । घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,’ चालिसेले भने ।
स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिनेसमेत उनले बताए । घोषणापत्रमा जेन–जी विद्रोहका क्रममा उठेका सवालहरुसमेत कांग्रेसले समेट्ने तयारी गरेको छ । ‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्ने छ,’ चालिसेले भने ।
कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको बताइएको छ । कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै विशेष महाधिवेशनमा प्रस्तुत प्रतिवेदनका विषयहरु समेटेर घोषणापत्र ल्याउने तयारी गरेको छ ।
यता नेकपा एमालेले घोषणापत्र निर्माणको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओली झापाबाट फर्केसँगै घोषणापत्र निर्माणमा जुटेका छन् । घोषणापत्र मस्यौदा समितिमा उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा, केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यो समितिले घोषणापत्र लेखनको काम तीव्र गतिमा अघि बढाइसकेको पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बताए ।
एमालेले यसपटक पुरानै नारा समेटेर घोषणापत्र ल्याउने तयारी गरेको शाहीले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनाअनुसार घोषणापत्र तयारी गरिरहेको नेता शाही बताउँछन् । जेन-जी विद्रोहको विरोध गर्दै आएको एमालेले लोकतन्त्रलाई लयमा ल्याउने विषयलाई मुख्य एजेण्डा बनाउने तयारीसमेत गरेको छ । एमालेले विज्ञसँग छलफल गरी घोषणापत्र तयारी अवस्थामा राखेको र केही दिनमा सार्वजनिक गर्ने शाहीले बताए ।
यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यो निर्वाचनमा मुख्य गरी सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दा घोषणापत्रमा समेट्ने तयारी गरेको छ । नेकपाले नेता नारायणकाजी श्रेष्ठलाई घोषणपत्र लेखनको संयोजक तोकेको छ । यो समितिमा प्रमेश हमाल, भीम रावल, देव गुरुङ, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, राजेन्द्र श्रेष्ठ, पम्फा भुसाल, रामचन्द्र झा, हरि चौधरी, हाकिकुल्ला खाँ, अजम्बर काङबाङ, शेरबहादुर कुँवरलगायत छन् ।
नेता राजेन्द्र श्रेष्ठका अनुसार घोषणापत्र मस्यौदा कमिटीले मस्यौदा तयार गरिरहे पनि सार्वजनिक गर्ने मिति तय भइसकेको छैन । यसपटक नेकपाभित्र प्रत्यक्ष कार्यकारी राख्नुपर्ने विषय जोडका साथ उठेको नेताहरु बताउँछन् । तर यो विषय समेटिन्छ वा समेटिदैनन् भन्ने विषय यकीन भइनसकेको श्रेष्ठ बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा वाचापत्र लेखन कार्य निरन्तर भइरहेको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार फागुन महिनाको पहिलो साताभित्र उक्त दस्तावेज सार्वजनिक गर्ने तयारी छ । रास्वपाले वाचापत्र बनाउन ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरेको छ । उक्त कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डेलगायत विभिन्न क्षेत्रका विज्ञ तथा नेताहरूको सहभागिता रहेको जनाइएको छ । कार्यदलले पार्टीको नीति, दृष्टिकोण र शासन प्रणालीसम्बन्धी प्राथमिकताहरू समेट्ने गरी मस्यौदा तयार गरिरहेको प्रवक्ताको भनाइ छ । रास्वपाले पूर्वमेयर बालेन्द्र (बालेन) शाह लाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर दैश दौडाह अभियान चलाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, उज्यालो नेपाल, नेकपा संयुक्तलगायत दलले पनि चुनावी घोषणापत्र बनाइरहेका छन् । यी घोषणापत्रमा कस्ता एजेण्डा समावेश गर्छन् भन्ने विषय सार्वजनिक गरेका छैनन् ।