गलकोट- बागलुङको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको हाे ।
यसअघि नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा ७० लाख रुपैयाँ खर्च गरिसकेको छ । आकर्षक हिमशृङ्खला र बागलुङ बजारको दृश्य देखिने यस स्थानलाई पर्यटकीय ‘हब’ बनाउन नगरपालिकाले ब्लु हिल नामकरण गरेको छ । ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको थियो । २५ करोड रुपैयाँको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा उल्लेख छ । गत वर्ष पहिलो चरणमा ७० लाख रुपैयाँ र चालु आर्थिक वर्षमा दोस्रो चरणमा बाँकी काम भइरहेको छ । हाल २० फिटको शिवको मूर्ति राख्न आवश्यक दुई तला पक्की भवन निर्माण भइरहेको छ ।
डोय भन्ने सो स्थानलाई ब्लु हिलका रुपमा परिणत गर्न नगरपालिकाले सबैभन्दा बढी बजेट एकै ठाउँमा लगानी गरेको छ । यस वर्ष विभिन्न संरचना निर्माण गर्न क्वालिसट रिन्युयबल इनर्जी नामक कम्पनीले जिम्मा लिएर काम गरिरहेको छ । डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेर नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिका-९ तित्याङका वडाअध्यक्ष राजु थापाले जानकारी दिए। “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स-साना पूर्वाधारहरु पछि बन्छन्,” वडाअध्यक्ष थापाले भने, “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले समेत प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।”
गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस स्थानमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।
दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनले नगरपालिकाकै उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न आन्तरिक बजेटबाट लगानी गरिरहेको जानकारी दिए । समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको ब्लु हिलले पछिल्लो समय नयाँ गन्तत्वयको रुपमा चर्चा पाउन थालेको छ ।