यसपटक सुधारिएको नेपाली कांगे्रसले पनि युवा नेता सभापति थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको छ । धेरैजसो बूढापाका र कतिपय भ्रष्टाचारमा मुछिएकाहरुले कांग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरुमा पनि युवाहरुको लहर बढी देखिन्छ । त्यसकारण देशले जेन-जी आन्दोलनको पृष्ठभूमिमा नयाँ र युवाहरु नै खोजेको परिप्रेक्षमा निर्वाचन हुँदै छ, माहोल नयाँ र युवाहरुकै आसपास आइरहँदा अबका दिनमा सेयरबजार बढ्दै जाने कुरामा दुईमत छैन ।
गत भदौ २३ र २४ को जेन-जी आन्दोलन र विद्रोहको पृष्ठभूमिमा आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपतिबाट निर्वाचनको छ महिने कार्यादेश पाएको सरकारले चुनावको एकलब्बे तयारी गरिरहेको छ । चुनाव हुने ग्यारेण्टी भएपछि यसबीच अन्तरिम सरकारका चार भाइ मन्त्रीले राजीनामा दिएर चुनावमा भाग लिन उमेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सूची बुझाउने र प्रत्यक्षतर्फको उमेदवारीमा दलीय तथा स्वतन्त्रहरुको दर्तासमेत भइसकेको छ । दल र तिनका उमेदवारहरु भोट माग्न घरदैलो अभियानमा जुटिसकेका छन् । सभा, सम्मेलन र भाषणबाजी चर्किन थालेको छ । दलहरु घोषणापत्र लेखनमा व्यस्त हुँदै छन् । देश चुनावमय बनेको छ । चुनावले गर्माएपछि उपभोक्ता बजार चलायमान हुन थालेको छ । अदृश्य पैसाहरुसमेत बाहिर आएर करिब एक खर्ब रुपैयाँ हाराहारी चुनाव शीर्षकमा खर्च हुने अनुमान छ ।

उमेदवारहरु एकले अर्कालाई कसरी पछि पार्ने भन्ने जुक्ति निकालिरहेका छन् । निर्वाचन आयोगले मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याइसकेको छ । म्यादी प्रहरी भर्नाको काम भइसकेको छ । माघ दोस्रो साताबाटै चुनावी सुरक्षाको माहोल खडा गर्न नेपाली सेना तैनाथ हुँदै छ । यसरी सम्पूर्ण हिसावले सरकार शान्तिपूर्णरुपमा चुनाव गराउन लागिपरेको छ । चुनाव हुने सुनिश्चित भएको छ । दातृ निकायहरुले पनि चुनावी प्रयोजनका लागि आवश्यक सहयोग दिन थालिसकेका छन् । निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पुगिसकेको बताउन थालेको छ । यस्तोमा अहिलेको चुनावी माहोल र आसन्न चुनावको नतिजाले सेयरबजारमा कस्तो प्रभाव पार्ला ? भन्ने आम चासो देखिन्छ ।
खासगरी फागुन २१ को चुनाव जेन-जी आन्दोलनको ‘म्याण्डेट’ले सिर्जना गरेको परिघटना हो । जेन-जीहरुले भदौ २३ को आन्दोलन कूशासन, भ्रष्ट्राचार र शासनसत्तामा एउटै पुरानो वर्गको रजगज भएको भन्दै आन्दोलन गरेका थिए । त्यसमाथि सामाजिक सञ्जाल बन्दको निर्णयले आक्रोश र आन्दोलनलाई बल प्रदान गरेको थियो । त्यसकारण पनि फागुन २१ को निर्वाचनमा पुराना दलहरु र नयाँहरुबीच प्रतिस्पर्धा हुने छ । निर्वाचन नजिकिँदै गर्दा नयाँ दलहरु खासगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पदबाट राजीनामा दिएर मिसिएको रवि लामिछानेको रास्वपा, हर्क साम्पाङको श्रम संस्कृति पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र कतिपय अरु नयाँ दलहरुको अहिले प्रभाव बढेको देखिन्छ । यो पटकको जनताको ‘सेन्टिमेन्ट’ नयाँहरुप्रति नै बढेको जस्तो देखिन्छ । तर पुराना एवं सांगठनिकरुपमा जरा गाडेर बसेका दलहरु पनि कमजोरचाहिँ देखिँदैनन् । फेरि मिश्रित निर्वाचन प्रणालीले गर्दा पनि कुनै एक पार्टीको बहुमत आउने सम्भावना अहिले छैन ।
पुस महिनामा बालेन रास्वपामा प्रवेश गरेको भोलिपल्ट सेयरबजार ४७.५५ अंकले बढेको थियो । कुलमान रास्वपामा प्रवेश गर्दा पनि बजार बढेको हो । त्यस हिसाबले पनि सेयरबजारले यसपटक नयाँ राजनीतिक दल र शक्ति खोजिरहेको भान हुन्छ । फेरि राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी, सुधारिएको गगन थापा नेतृत्वको नेपाली कांग्रेस यी सबैको आर्थिक सिद्धान्त मूलत पँुजीवादी नै हो । अर्थात् उदारवादी एवं निजी क्षेत्रमैत्री आर्थिक प्रणाली नै उनीहरुको रोडम्याप हुन् ।
देशमा दुईतिहाइ जनमत कम्युनिस्टहरुकै भए पनि विभिन्न कारणले उनीहरु एकअर्कामै ज्यादा लडाइँ गर्दा यसपटक मतदाता विरक्तिएका देखिन्छन् । त्यसकारण पनि फागुन २१ को ‘ब्यालेट’ यसपटक कम्युनिस्टहरुको पोल्टामा पर्ने सम्भावना निकै कम छ । तसर्थ यो पटकको निर्वाचनले सेयरबजार अवश्य बढाउँदै लैजाने छ । किनकि, सेयरबजारले जहिले पनि निजी क्षेत्रमैत्री दल र उमेदवारहरुको खोजिरहेको हुन्छ । खुला एवं राज्यबाट नियन्त्रण नगरिएको स्वतन्त्र व्यावसायिक वातावरण खोजिरहेको हुन्छ । त्यस सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीसहितका पुँजीवादलाई पछ्याएका पार्टीहरुको माहोल बनिरहँदा सेयरबजारले ‘ग्रिन सिग्नल’ दिनु स्वाभाविक हो ।
दलहरुले माघ ६ गते प्रत्यक्षतर्फको उमेदवारी दिइसकेपछि सेयरबजारले ४२ अंकको छलाङ मारेर ‘ग्रिन सिग्नल’ दिएको थियो । यसलाई निरन्तरता दिँदै आइतबार ५७.५५ अंकले बढेको छ । जतिजति निर्वाचन नजिकिँदै जाने छ र माहोल पनि नयाँहरुको पक्षमा भएछ भने त्यति नै सेयरबजार बढ्न सक्ने देखिन्छ । जस्तो कि ०६४ सालको निर्वाचनमा नेकपा माओवादीको माहोल बढिरहँदा र उसैको पक्षमा निर्वाचनको नतिजा आउँदा सेयरबजार धेरै नै घटेको थियो । २०६४ मंसिरमा एक हजार २५ अंकमा रहेको सेयरबजार परिसूचक निर्वाचनको समय चैतमा आइपुग्दा ७४७ अंकमा झरेको थियो । त्यतिखेरका अर्थमन्त्री डा. बाबुराम भट्टराईले ०६५ साल भदौ २ गते सेयरबजार ‘जुवा घर’ हो भनेपछि त झन् बजारको मनोविज्ञान निकै खस्केको थियो । अर्थमन्त्रीको रुपमा भट्टराईको सो अभिव्यक्तिपछि बजार १०७५ अंकबाट क्रमशः २९२ अंकसम्म तल झर्यो ।
तर माओवादी क्रमशः सत्तामा अभ्यस्त भएपछि उसले आफ्ना घोषणापत्रमा उल्लिखित धेरै नीति-कार्यक्रम छोड्यो । पुराना दलहरुसँगको सहकार्य बढाउन थालेपछि बजार सम्हालिएर बढ्न थालेको हो । नेपालमा दृश्यमा देखिनेगरी अलिकति गरिब तथा उपेक्षित वर्गको मुद्दालाई बोकेको, समाजवादको यात्रा तय गर्छौं भन्ने पार्टी माओवादी नै थियो । तर अहिले माओवादी पार्टी मूलरुपमा विभिन्न कम्युनिस्ट भनिने सुधारवादी दलहरुसँग गठबन्धन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ । उसले जनयुद्ध सुरु गर्दा ताकाको माग र मुद्दा धेरैजसो छोडिसकेको छ । अहिले त कांगे्रस, एमाले र नेकपामा तात्विक फरक छैन । सैद्धान्तिक हिसाबले केही फरकपना त होला तर उनीहरुले दुई दशकबीच गरेका काम र परिपाटी कांगे्रस-एमालेकै जस्तो हो । अर्को, एमाले पार्टी नामले कम्युनिस्ट भए पनि कांग्रेसभन्दा पनि उदार र पुँजीवादी ढर्राको पार्टी हो । कांगे्रस त भन्नै परेन, ऊ घोषितरुपमै उपल्लो वर्गको, पुँजीवादको पक्षपोषक पार्टी हो । यसकारण सेयरबजारले अहिले दलीय सिद्धान्तका आधारमा डराएको छैन । बरु निर्वाचनबाट पुरानै भ्रष्ट नेताहरु पो दोहोरिने हुन् कि भन्ने संशयचाँहि छ ।
तर यसपटक सुधारिएको नेपाली कांगे्रसले पनि युवा नेता सभापति थापालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको छ । धेरैजसो बूढापाका र कतिपय भ्रष्टाचारमा मुछिएकाहरुले कांग्रेसमा टिकटै पाएका छैनन् । अरु दलहरुमा पनि युवाहरुको लहर बढी देखिन्छ । त्यसकारण देशले जेन-जी आन्दोलनको पृष्ठभूमिमा नयाँ र युवाहरु नै खोजेको परिप्रेक्षमा निर्वाचन हुँदै छ, माहोल नयाँ र युवाहरुकै आसपास आइरहँदा अबका दिनमा सेयरबजार बढ्दै जाने कुरामा दुईमत छैन ।