नवलपरासी – पश्चिम नवलपरासीको क्षेत्र नं १ मा ‘हेभीवेट’ उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ। यतिबेला उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या सुन्ने कार्यमा केन्द्रित भएका हुन्।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तर्फबाट रुख चुनाव चिन्ह लिएर यस अघिका प्रतिनिधि सभा सदस्य एंव अर्बपति व्यवसायी विनोद चौधरी प्रतिस्पर्धामा छन् भने उनीसँगै यस अघि पनि प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्।
यी पुराना प्रतिस्पर्धी बाहेक नेकपा एमालेबाट सूर्य चुनाव चिन्ह लिएर पूर्व सुस्ता गाउँपालीका अध्यक्ष एवं विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट तारा चुनाव चिन्ह लिएर सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ‘घण्टी’ चुनाव चिन्ह लिएर पूर्व नेपाली कांग्रेसका नेता एंव व्यवसायी बिक्रम खनाल, राष्ट्रिय जनमोर्चाबाट गिलास चुनाव चिन्ह लिएर निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन्।
नवलपरासी सुस्ता पश्चिममा ६ वटा राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेद्वारहरू टोलटोलमा मतदाता रिझाउन व्यस्त छन् भने आफ्नो चुनावी एजेण्डा सहित बस्ती–बस्तीमा पुगिरहेका छन्। विगतमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरू अहिले एक्ला एक्लै चुनावी मैदानमा होमिएका हुन्। यस अघिको निर्वाचनमा व्यवसायी विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतले पराजित गरेका थिए। चौधरीले २९,५१९ मत पाउदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए।
अघिल्लो पटक चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको साथ थियो तर अहिले एक्ला एक्लै प्रतिस्पर्धा गर्दा कडा चुनावी भिडन्त हुने देखिएको छ।उम्मेद्वार चौधरीले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् भने त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डाको रुपमा राखेका छन्। त्यस्तै, रास्वपाका बिक्रम खनाल ‘घण्टी’ लिएर युवा पुस्ता र असन्तुष्ट मतदाताको घरमा पुग्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन्। एमालेका पाण्डले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने उद्घोष गरेका छन्।
जनमोर्चाका उम्मेद्वार पोखरेलले भ्रष्टाचारविरुद्धको दृढ लडाइँ, प्रदेश संरचनाको पुनरावलोकन तथा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले विगतदेखि नै स्वच्छ राजनीति, राष्ट्रहित र जनताको पक्षमा आवाज उठाउँदै आएकोले यस पटक गिलास चिन्हमा मतदान गरेर भ्रष्टाचारमुक्त र आत्मनिर्भर नेपाल निर्माणमा सहयोग गर्न मतदातालाई आग्रह गरेका छन्।
उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू दोहोर्याइरहेका छन्। किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन्।