एकपटक मधेसको नेतृत्व गर्न सकेँ भनेमात्रै बल्ल देशको नेतृत्वका लागि योग्य हुन्छु ।
गगन थापा
सभापति, नेपाली कांग्रेस
काठमाडौं- नेपाली कांग्रेसको नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण सम्भव नदेखिएपछि विशेष महाधिवेशनको बाटो हुँदै सभापति बनेका गगन थापाले नेतृत्व सम्हालेको दुई साता पुगेको छ । यद्यपि, उनी अझै पूर्णवैधानिक सभापति भने भइसकेका छैनन् ।
अपदस्थ सभापति शेरबहादुर देउवापक्षले पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो लाग्न बाँकी छ । कानुनी प्रक्रिया जारी रहे पनि थापा राजनीतिकरूपमा भने स्थापित भइसकेका छन् । कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ । यही राजनीतिक पृष्ठभूमिमा थापा आज मधेस झर्दै छन् । उनी सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने लक्ष्यसहित मधेस जान लागेका हुन् ।
गगन थापा कांग्रेसको पुरानो आधार मधेसमा पुनः स्थापित गर्न चाहन्छन् । तर उनको मुख्य चुनौती भनेको कांग्रेसबाट अलग भएका असन्तुष्ट शक्तिलाई पुनः जोड्नु हो ।
चन्द्रकिशोर
राजनीतिक विश्लेषक
मधेस जानुअघि शनिबार काठमाडौंमा थापाले सर्लाही-४ बाट उम्मेदवारी दिनु आफ्नो सचेत निर्णय भएको बताए । ‘यो पटक आँट गरेर सर्लाही-४ बाट उम्मेदवारी दिएँ,’ उनले भने । थापा चारपटक संसद् पुगिसकेका नेता हुन् । पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका उनी २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले लगातार जित्दै आएको निर्वाचन क्षेत्र काठमाडौं-४ हो । तर, यसपटक उनले उक्त क्षेत्र छाडेर मधेसको सर्लाही-४ रोजेका छन् ।
१८ वर्षको संसदीय अनुभव बोकेका थापाले यसपटक किन सुरक्षित क्षेत्र परित्याग गरे भन्ने विषयलाई राजनीतिकवृत्तमा चासोका साथ हेरिएको छ । तर, यसबारे उनले भनेका छन्, ‘एकपटक मधेसको नेतृत्व गर्न सकेँ भनेमात्रै बल्ल देशको नेतृत्वका लागि योग्य हुन्छु ।’
मधेस मामिलाका जानकार चन्द्रकिशोरका अनुसार थापाको मधेस उम्मेदवारी रणनीतिक छ । ‘गगन थापा कांग्रेसको पुरानो आधार मधेसमा पुनः स्थापित गर्न चाहन्छन्,’ उनले प्रभावसँग भने, ‘तर उनको मुख्य चुनौती भनेको कांग्रेसबाट अलग भएका असन्तुष्ट शक्तिलाई पुनः जोड्नु हो ।’
सभापति थापा यतिबेला उनको राजनीतिक जीवनकै सर्वाधिक चुनौती सामना गर्ने ठाउँमा छन् । यो यथार्थ स्वीकार्दै उनले सभापति निर्वाचित भएको नवौं दिन पार्टी कार्यालय सानेपा पुगेर भने, ‘हामी सीधा बाटोबाट यहाँ आएका होइनौं ।’ उनकै शब्दमा भन्दा पार्टी बदल्नु छ । बदलिएको कांग्रेस पार्टीलाई निर्वाचनबाट पहिलो दल बनाउनु छ र देश बदल्नु छ । थापाका लागि यो त ठूलो अभिभारा हो । जबकि, विशेष महाधिवेशनपछि कांग्रेसभित्रका समूहगत विभाजन थप स्पष्ट देखिन थालेका छन् । सभापति थापाको पदभार ग्रहण समारोहमा देउवा समूहका प्रभावशाली नेताहरूको अनुपस्थिति त्यसको संकेत मानिएको छ ।
यद्यपि, कांग्रेस नेता मधु आचार्य भने पार्टी क्रमशः एकताबद्ध हुने दाबी गर्छन् । ‘अब सबै कुरा सामान्य बन्दै जान्छ । निर्वाचनमा एकताबद्ध कांग्रेस देख्नुहुन्छ,’ उनले भने । तर, उम्मेदवारी चयन प्रक्रियामा सभापति थापाले देउवा र शेखर कोइराला पक्षलाई सीमित गरेको बुझाइ कांग्रेसभित्रै छ । यसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ ।
चुनाव जित्नै चुनौती
अघिल्ला निर्वाचनमा थापा आफ्नो क्षेत्रमा केन्द्रित भएर चुनावी गतिविधि गर्थे । तर, यसपटक उनी उम्मेदवारमात्र होइनन्, पार्टी सभापतिका रूपमा देशभर कांग्रेसको चुनावी नेतृत्व गर्ने जिम्मेवारीमा छन् । आफू जित्नुका साथै अन्य कांग्रेस उम्मेदवारहरूलाई जिताउने वातावरण बनाउनु उनको प्रमुख दायित्व बनेको छ ।
अर्कोतिर, उनी कांग्रेसले अघि सारेको भावी प्रधानमन्त्री हुन् । त्यसो हुनाले उनको अर्को अभिभारा कांग्रेसलाई पहिलो दल बनाउनु हो । मिश्रित निर्वाचन प्रणालीमा दलहरूलाई बहुमत ल्याउनै कठिन हुँदै आएको छ । तैपनि सभापति थापाले देशकै ठूलो दल बनाउने र एकल सरकार गठन गर्नेगरी चुनावी परिचालनको कमाण्ड उपसभापति विश्वप्रकाश शर्मालाई दिएका छन् । थापाले पार्टी पंक्तिलाई आ-आफ्नो क्षेत्रमा केन्द्रित भएर लाग्न निर्देशन दिँदै आएका छन् । शनिबार पनि उनले भने, ‘सबै साथीहरू आफ्नो क्षेत्रमा जानुहोस् । एकमना भएर लागौं । सर्लाहीजस्ता ठाउँमा अनावश्यक भीड नल्याऔं ।’
थापाले चुनाव लड्ने भएको सर्लाही-४ मा उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह छन् । सिंह कांग्रेसका पूर्वसांसद हुन् । २०७४ मा कांग्रेसबाट निर्वाचित भएका उनी पार्टीसँग असन्तुष्ट भएपछि स्वतन्त्र उम्मेदवार बनेर २०७९ मा विजयी भएका थिए । सिंहसँगको चुनावी प्रतिस्पर्धामा सभापति थापाको जित कि हार ? २१ फागनुको निर्वाचनपछि मतपेटिका खोल्दा थाहा हुन्छ ।
तर, थापा आज मधेस जाँदै गर्दा पार्टीलाई एकताबद्ध बनाउने, कांग्रेसको जनाधार मधेसमा सुधार्नेदेखि आफूसँगै पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन माहोल बनाउनुपर्ने दायित्व पनि बहन गर्नुपर्ने भएको छ ।