- काठमाडौं-४ छाडेर गगनले रोजे सर्लाही-४
- ‘फेस सेल’ गर्न गगन मधेस गएको टिप्पणी
- बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर
- मधेसको जनमत आकर्षण गर्ने रास्वपाको रणनीतिलाई
- काउण्टर गर्न गगन मधेस झरेको विश्लेषण
- सर्लाही-४ मा गगनको भिडन्त कांग्रेस छाडेर रास्वपा
- उम्मेदवार बनेका डा. अमरेशकुमार सिंहसँग
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचन लड्न मधेस झरेका छन् । संसदीय राजनीतिका चतुर खेलाडी गगनले यसपटक सर्लाही-४ लाई नयाँ चुनाव क्षेत्र रोजे ।
तीनपटक निर्वाचन जितेको काठमाडौं-४ उनको छनोटमा परेन । अर्थात् काठमाडौं-४ वासीको जनप्रतिनिधि हुन यसपालि चाहेनन् । उनी जननिर्वाचित हुँदै २०७० मा संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभामा काठमाडौं-४ बाट पुगे । पहिलो संविधानसभामा उनी समानुपातिक सभासद थिए । १८ वर्षको संसदीय राजनीतिका अनुभवी गगनले यसपटक किन मधेसको सर्लाही-४ किन रोजे ? चासोपूर्वक हेरिएको छ ।
विशेष महाधिवेशन गरेर सभापति भएका गगन कांग्रेसबाट भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । यसपटक उनको ‘फेस सेल’ हुन सक्छ । कांग्रेसमामात्र होइन, अन्तरपार्टी पंक्तिमा पनि उनी लोकप्रिय नेता हुन् । भलै उनी आलोचनामुक्त छैनन् । तर, पनि समकालीन कांग्रेस नेतामा उनको सर्वाधिक लोकप्रिय अनुुहार हो । तिनै गगनले मधेसको जनमत प्राप्त गरेर संसद् आउन चाहे ।
राजनीतिक विश्लेषक डा. भेषराज घिमिरेका अनुसार मधेस एकताका कांग्रेसको उर्वर क्षेत्र हो । पछिल्ला निर्वाचनहरूको परिणामलाई आधार मान्दा यहाँ कांग्रेसको जनाधार खुम्चिँदै गएको छ । २०६२/६३ को मधेस आन्दोलनपछि कांग्रेसको प्रभाव कमजोर हुँदै गयो । यस्तोमा गगन कांग्रेसको पुरानो विरासत फर्काउन मधेस गरेको हुन सक्ने डा. घिमिरेलाई लाग्छ । यहाँ प्रतिनिधिसभाको ३२ वटा निर्वाचन क्षेत्र छन् ।
अर्को, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसको जनकपुरबाटै चुनावीसभा ग¥यो । त्यहाँ रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र (बालेन) साहसहित पार्टी सभापति रवि लामिछानेले सम्बोधन गरे । बालेन मधेसकै महोत्तरी पुख्र्यौली थलो भएका युवा नेता हुन् । मधेसका कोही पनि नागरिक देशको प्रधानमन्त्री भएका छैनन् । सल्यानका मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री भएबाहेक आदिवासी जनजाति पनि प्रधानमन्त्री भएका छैनन्, जसको हातमा सत्ताको कार्यकारी अधिकार सीमित छ ।
यस्तोमा भावी प्रधानमन्त्रीमा बालेनको अनुहार देखाएर रास्वपाले जनमत आकर्षण गर्न खोजेको छ । कांग्रेस सभापति थापाले त्यही जनमत आफूू र कांग्रेसतिर फर्काउन मधेस झरेको विश्लेषण भइरहेको छ । यसबाहेक काठमाडौं-४ मा गगन विवादित पनि भए । उनको निर्वाचन क्षेत्रमा पर्ने कपनको ठाउँठाउँमा बर्सेनि डुबान हुन्छ । डुबान समस्याले कपनबासी वर्षायाममा पिरोलिन्छन् । यही कारण उनीसँग कांग्रेसकै कतिपय मतदाताहरू असन्तुष्ट छन् ।
भनिन्छ, २०७९ को निर्वाचनमा उनमा हार्ने डर थियो । उनकै सल्लाहअनुसार रास्वपा सभापति रवि लामिछाने चितवन-२ झरेका थिए । उनलाई जितमा सहजताका लागि उनको क्षेत्रमा रास्वपाले उम्मेदवार उठाएको पनि थिएन । त्यसबेला गगन-रवि अघोषित चुनावी तालमेल भएको चर्चा फैलिएको थियो । तर, गगन र रविले यसबारे प्रतिक्रिया पनि जनाएनन् ।
तर, यसपटक त्यहाँ रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ । उनी २०७९ को निर्वाचनमा काठमाडौं-१ मा लडेका थिए । सामाजिक अभियन्ता हुँदै राजनीतिमा प्रवेश गरेका बम प्रभावशाली उम्मेदवारी हुन् । गगनका लागि एमाले उम्मेदवार डा. राजन भट्टराई मात्रै होइन, पुकार बलिया प्रतिस्पर्धी हुन सक्थे । पुकारले काट्ने सर्वाधिक मत कांग्रेस अर्थात् गगनकै हुुन्थ्यो । यस्तोमा गगन सर्लाही-४ झरेका हुन् ।
विगतको चुनावी परिणामलाई हेर्दा यो क्षेत्रका मतदाताको मतदान प्रवृत्ति स्थिर देखिँदैन । चुनावी हुरीमा मतदाताको मतदान प्रवृत्ति निर्भर हुने देखिन्छ । जस्तो, २०६४ को पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट तत्कालीन सद्भावना पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यहाँदेखि तराई मधेस सदभावना पार्टीका (हाल नेकपा)का नेता महेन्द्र राय यादव निर्वाचित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि स्वतन्त्रबाट सिंह नै निर्वाचित भए । यिनै चार चुनावी परिणामले भन्छ- यहाँ कुनै दलका स्थायी प्रकृतिका मतदाता छैनन् । यही बुुझेर गगन सर्लाही-४ पुुगेका हुन सक्ने डा. घिमिरे बताउँछन् ।
‘त्यहाँ कांग्रेसका वा मधेसकेन्द्रित दलका स्थायी प्रकृतिका मतदाता देखिँदैनन्, उनीहरू जता माहोल बन्छ, त्यतै मतदान गर्छन्,’ उनले प्रभावसँग भने, ‘त्यस्ता खालका मतदाताहरू नेता परीक्षण पनि गर्छन् । त्यो फाइदा लिन सकिन्छ भनेर पनि गगन त्यहाँ गएका हुन सक्छन् ।’
उसो त उनको प्रतिस्पर्धा कांग्रेस छाडेर स्वतन्त्रहुँदै हालै रास्वपा पुगेका डा. सिंहसँग हुँदै छ । सिंहले आफूले गगनलाई पराजित गर्ने मंगलबार उम्मेदवारी दर्तापछि बताए । ‘भगौडा उम्मेदवार मसँग प्रतिस्पर्धामा हार्छन्,’ उनको दाबी छ । परम्परागत चुनावी क्षेत्र छाडेर गएका गगन यदि पराजित भए उनको प्रधानमन्त्री हुने चाहना चकनाचुुर हुने छ ।