- एमाले अध्यक्ष केपी शर्मा ओली-झापा-५
- नेकपा संयोजक पुष्पकमल दाहाल-रुकुमपूर्व
- रास्वपा सभापति रवि लामिछाने-चितवन-२
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन-झापा-३
- प्रलोपा नेता डा. बाबुराम भट्टराई-गोरखा-२
- कांग्रेस र जसपा नेपालको टुंगो लाग्न बाँकी
काठमाडौं- नेपाली कांग्रेसबाहेक सबै दलले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याइरहेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, श्रम संस्कृति पार्टीलगायत दलले उम्मेदवार टुंग्याइसक्न लागेका हुन् ।
जेन-जी विद्रोहपछि हुन लागेको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । जेन-जीलाई समेत उम्मेदवार बनाउँदै दलहरूले निर्वाचनको माहोल तताइरहेका छन् । तर, दलहरूका शीर्षस्थ नेताहरू कहाँबाट चुनाव लड्छन् ? आम चासो छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचन लड्दै छन् । उनी आठौंपटक निर्वाचन लड्न लागेका हुन् । छ पटक जित र एकपटक हारेका ओली तीनपटक प्रधानमन्त्री भइसकेका छन् । यो क्षेत्रमा माओवादीले २०६४ मा बाहेक सबै चुनाव एमालेबाट ओलीले जित्दै आएका छन् । त्यसो हुनाले यो क्षेत्र एमालेको लालगढ हो ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल रुकुमपूर्व पुगेका छन् । ‘घुमन्ते उम्मेदवार’को पहिचान बनाएका दाहालले निर्वाचन लड्न लागेको रुकुमपूर्व माओवादीको बलियो प्रभाव भएको क्षेत्र हो । विगतमा यो क्षेत्रबाट जनार्दन शर्माले निर्वाचन जित्दै आएका थिए । शर्माले पार्टी छाडेपछि दाहाल उम्मेदवार बन्ने भएका हुन् । १० वर्षे माओवादी युद्धका सर्वोच्च कमाण्डरसमेत रहेका दाहाल तीनपटक प्रधानमन्त्री भइसके । यसबीचमा उनले रोल्पा, काठमाडौं, चितवन, सिरहा र गोरखाबाट निर्वाचन लडे । उनी यसपटक माओवादी जनयुद्धको ‘इपिसेन्टर’ रुकुमपूर्व पुगेका हुन् ।

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराई गोरखा-२ बाट उम्मेदवार भएका छन् । यो उनको पुरानो निर्वाचन क्षेत्र हो । २०७९ मा उनले आफ्नो क्षेत्र नेकपा अध्यक्ष दाहालका लागि छाडेका थिए । त्यसबेला दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गर्ने समझदारी थियो । तर, पछि एकता भएन । यस्तोमा भट्टराईले आफ्नो पुरानो जितको विरासत फर्काउनेगरी निर्वाचनमा होमिने निर्णय गरेका हुन् । यसअघि उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए । तर, आइतबार भने उनले उम्मेदवार बन्ने निर्णय गरेका हुन् ।
अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन् । नेपाल अघिल्लोपटक पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको यो प्रभाव क्षेत्र हो । नेकपाकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनी इलाम-१ बाट यसअघि निर्वाचन लड्दै आएका थिए । गत २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन लड्दा आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँग पराजित भए । यसपटक एमालेले त्यहाँ कोशी प्रदेशका पूर्वसांसद काजीमान कागतेलाई उम्मेदवार बनाएको छ । खनालले भने यसपटक निर्वाचन नलड्ने भएका हुन् ।
नेकपाकै वरिष्ठ नेता वामदेव गौतम बर्दिया-१ बाट उम्मेदवार बनेका छन् । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री हुन् । यो उनको परम्परागत निर्वाचन थलो हो । तर, केहीपटक उनी पुख्र्यौली थलो प्युठानबाट पनि चुनाव लडे । प्रतिनिधिसभा निर्वाचनकै लागि उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । आगामी फागुनको २० गतेसम्म पदावधि छँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न उनले आइतबार राजीनामा दिएका हुन् ।
नेकपाकै नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन् । उनी विगतमा गोरखाबाट निर्वाचन लड्थे । आफ्नो चुनाव क्षेत्र छाडेर उनी सर्लाही झर्ने भएपछि पार्टीभित्र असन्तुष्टि पनि बढेको छ । नेकपा नेता डा. भीम रावल अछाम-१ बाट निर्वाचन लड्ने भएका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री रावलले गत २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएनन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नै दिएनन् । हालै नेकपा प्रवेश गरेका उनलाई संयोजक दाहालले उम्मेदवार बनाएको हो । रावल यस क्षेत्रबाट पटक-पटक निर्वाचित नेता हुन् ।
एमालेले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देही-२ मा उम्मेदवार बनाएको छ । यसअघि पाल्पा-२ मा उनको नाम थियो । त्यहाँबाट गत निर्वाचनमा एमालेकै नेता ठाकुर गैरे निर्वाचित भएका थिए । उनकै ठाउँमा पौडेलको नाम हुँदा असन्तुष्टि बढेको थियो । यसपछि ओलीले पौडेललाई रुपन्देही-२ मै फर्काएको हो । पौडेलले पटक-पटक यहाँबाट निर्वाचन जितेका छन् । एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने भएका छन् । कहिल्यै प्रत्यक्ष निर्वाचन नजितेका पोखरेलको नाम यसअघि सार्वजनिक उम्मेदवारहरूको सूचीमा थिएन । तर, उनलाई ओलीले दाङ-२ मै निर्वाचन लडाउने भएका हुन् । विगतमा पोखरेलको संसद् यात्रा समानुपातिक निर्वाचन प्रणालीबाटै भयो । उनी अघिल्लोपटक तत्कालीन माओवादी नेत्री रेखा शर्मासँग पराजित भ्एका थिए ।
एमालेले उपाध्यक्ष गोकर्ण विष्टलाई गुल्मी-२ बाट र अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई लम्जुङबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमहासचिवहरू लेखराज भट्टलाई कैलाली-४ र रघुवीर महासेठलाई धनुषा-१ उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवन-२ बाटै उम्मेदवार बन्ने भएका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा त्यस क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी मुद्द काठमाडौं, कास्की, चितवन, रुपन्देही र पर्सा अदालतमा विचाराधीन छ । गत बुधबार सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुई गम्भीर मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेपछि उनलाई उम्मेदवार बन्ने बाटो खुलेको हो ।
रास्वपाले वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई झापा-५ मै उम्मेदवार बनाउने निश्चित भएको छ । उनले मंगलबार त्यहाँ पुगेर उम्मेदवारी दर्ता गर्ने भएका हुन् । त्यसकै लागि उनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिए । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ-१ बाट निर्वाचन लड्ने भएका छन् । उनी २०८० मा भएको उपनिर्वाचनमा त्यहाँबाट निर्वाचित भएका थिए । उनी अर्थशास्त्री हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाटै निर्वाचन लड्ने भएका छन् । २०७४ र २०७९ मा उनले एमालेको समर्थनमा यही क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । पूर्वउपप्रधान तथा ऊर्जामन्त्री रहेका लिङ्देनले पूर्ववत् क्षेत्र नछाड्ने भएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कहाँबाट निर्वाचन लड्ने भन्ने टुंगो लागेको छैन । २०७९ मा भएको निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भए । पछि बारा-२ मा भएको उपनिर्वाचनमा निर्वाचित भए । यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने आज टुंगो लाग्ने प्रवक्ता मनिष सुमनले बताए । जनमतका अध्यक्ष डा. राउत सप्तरी-२ बाटै निर्वाचन लड्ने भएका छन् । यस्तै, चुनावी तालमेल गरेका राष्ट्रिय मुक्ति पार्टीका नेता राजेन्द्र महतो, जसपा नेता अशोककुमार राई, नाउपा नेता रेशमलाल चौधरीसँग चुनाव क्षेत्र संख्या बाँडफाँट भए पनि कहाँदेखि चुनाव लड्ने निश्चित भइसकेको छैन ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी-१ बाट उम्मेदवार बन्दै छन् । यो क्षेत्रबाट २०४८ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले निर्वाचन जितेका थिए । उनी त्यसबेला एमालेबाट निर्वाचन लडेका थिए । त्यसपछि २०६४ मा माओवादीका किरणकुमार राईले एकपटक जितेबाहेक सबै निर्वाचन एमालेका उम्मेदवार वा एमाले समर्थित उम्मेदवारले निर्वाचन जिते । त्यसले गर्दा एमालेको प्रभाव क्षेत्रमा हर्कले उम्मेदवारी घोषणा गरेका हुन् ।
विघटित प्रतिनिधिसभाको मुख्य दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन । हालै विशेष महाधिवेशन गरेका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि कांग्रेसको देउवा समूह आइतबार सर्वोच्च अदालत पुगेको छ । यसले कानुनी झमेलामा फसेको कांग्रेसले आज उम्मेदवार टुंगो लगाउने तयारी गरेको प्रवक्ता देवराज चालिसेले बताए ।
‘हामी आज उम्मेदवारहरू टुंगो लगाउँछौं र निर्वाचनमा होमिन्छौं,’ उनले प्रभावसँग भने ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र देशभर १६५ वटा रहेको छ । केही दललेमात्रै सबै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको छ । निर्वाचन आगामी २१ फागनुमा हुँदै छ ।