दमौली- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा नेपाली कांग्रेस बाहेकका प्रमुख राजनीतिक दलले उम्मेदवार टुङ्ग्यिाएका छन् । नेकपा एमाले, नेकपा तथा उज्यालो नेपाल पार्टीले दुवै निर्वाचन क्षेत्रका उम्मेदवार सार्वजनिक गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पनि उम्मेदवार टुङ्गो लागेको हाे।
नेकपा एमालेले क्षेत्र नं १ बाट भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने क्षेत्र नं -२ बाट केदार सिग्देललाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कँडेलले जानकारी दिए। यसैगरी, नेकपाबाट तनहुँ-१ मा विद्यानाथ ढकाल र क्षेत्र नं-२ मा सोमबहादुर थापा (एसबी. थापा) उम्मेदवार चयन भएका छन् ।
नयाँ राजनीतिक शक्तिका रूपमा देखिएको उज्यालो नेपाल पार्टीले पनि दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ । पार्टीले तनहुँ-१ बाट मन्जिल राना र तनहुँ-२ बाट मनराज गुरुङलाई उम्मेदवार बनाएको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ-१ बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं-२ मा उम्मेदवारको नाम सार्वजनिक हुन बॉकी छ ।