सिरहा- नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर-कमला सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम सुरु भएको पाँच वर्ष पुग्दा ६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । एसियाली विकास बैंकको मुख्य लगानीमा निर्माणाधीन ८६ दशमलव ८३ किलोमिटर लामो यो खण्डको काम तीन पटक म्याद थपिँदा पनि अझै पूर्ण हुनसकेको छैन ।
सन् २०२० जुनमा चाइना रेलवे नं २ इञ्जीनियरिङ ग्रुपसँग भएको सम्झौताअनुसार यो सडक २८ अक्टोबर २०२३ मै सम्पन्न हुनुपर्ने थियो । साइट क्लियरेन्स र कोरोना महामारीको कारण देखाउँदै पहिलो पटक १४ महिना र दोस्रो पटक १२ महिना म्याद थपिएको थियो । हालै आगामी जुनसम्मका लागि तेस्रो पटक छ महिना म्याद थपिएको छ ।
कूल १६ अर्ब आठ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतको यो परियोजनामा पूर्वी खण्ड (कञ्चनपुर-कुसहा ३९ दशमलव ४२ किमि) र पश्चिम खण्ड (कुसहा-कमला ४७ दशमलव चार किमी) गरी दुई भागमा काम भइरहेको छ ।