- २०१०, २०५९ पछि ३० पुस २०८२ मा फुट्यो कांग्रेस
- कांग्रेस फुट होइन, जुटका लागि भन्दै भएको देउवा र गगन-विश्वको भेटवार्ता निरर्थक
- सभापति छाड्ने, प्रधानमन्त्रीको उम्मेदवार गगनलाई बनाएर चुनावमा जानेजस्ता गगन-विश्वको प्रस्ताव देउवाले अस्वीकार गर्दा कांग्रेस एक रहेन
- पार्टी विभाजनपछि आरोप-प्रत्यारोप सुरु
- गगन, विश्व र फरमुल्ला साधारण सदस्यसमेत नरहनेगरी पाँच वर्षका लागि निलम्बित
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको मुखैमा देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस फुटेको छ । कांग्रेसको आन्तरिक जीवनमा यो तेस्रो ठूलो फुट हो ।
पार्टी फुटअघि जुटका निम्ति चरण-चरणमा प्रयास भए । तर, विशेष महाधिवेशनपक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आठबुँदे प्रस्तावमाथि तीन बुँदामा सभापति शेरबहादुर देउवा सहमत नहुँदा पार्टी फुट्यो । शर्माका अनुसार देउवाले सक्रिय भूमिका निर्वाह नगर्ने र सो क्रममा उम्मेदवारीपत्रमा उनले हस्ताक्षर नगर्ने भन्ने आफूहरूको प्रस्तावमा देउवा सहमत भएनन् । गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान पनि उनको विमति रह्यो । उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्न पनि देउवा सकारात्मक भएनन् । बुधबार बिहान देउवा र महामन्त्रीहरू गगन र विश्वबीच भेटवार्ता भएको थियो ।
भेटवार्तामा सहमति नजुटेपछि गगन-विश्व विशेष महाधिवेशनस्थल भृकुटीमण्डप आए । देउवाले केन्द्रीय समिति बैठक राखे । त्यहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन-विश्वलाई दोष दिए । ‘महामन्त्रीहरूसँगको सहमतिमै पुुसको कार्यतालिका ल्याइएको हो । तर, गर्दै जाँदा भ्याइएन । यसमा उहाँहरू आफू पन्छिएर दोष थोपर्नुभयो । उहाँहरूले धोका दिनुभयो ।’ मंगलबार तीन चरणको वार्तामा देउवा अर्थात् संस्थापन पक्षबाट सहभागी नेता रमेश लेखकले पनि केन्द्रीय समिति बैठकमा पार्टी फुट जोगाउन नसकिएको ‘ब्रिफिङ’ गरेका थिए । यता गगन-विश्वले भने देउवालाई आफूूहरूले बुझाउनै नसकिएको गुनासो गरेका थिए ।

केहीबेरमै देउवाले सभापतित्व गरेको केन्द्रीय समिति बैठकले गगन, विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी पाँच वर्षका लागि निष्कासन ग¥यो । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधानको अनुशासन उल्लंघन गरेर पार्टी हितविपरीत विशेष महाधिवेशन बोलाएको भन्दै कारबाही गरेको बताए । उनका अनुसार बैठकले विशेष महाधिवेशनमा सहभागी बाँकी नेता र महाधिवेशन प्रतिनिधिहरूलाई कारबाही गरेन । उनीहरूलाई जिल्ला फर्केर पूर्ववत् भूमिकामा सक्रिय रहन निर्देशन दिने निर्णय गर्यो ।
उता भृकुटीमण्डपबाट गगनले भने हिम्मत भए विशेष महाधिवेशनमा सहभागी २५ सय महाधिवेशन प्रतिनिधिलाई पनि कारबाही गरेर देखाउन देउवालाई चुनौती दिए । उनले आधिकारिक कांग्रेस आफूूहरू भएको र सोमबार नै कांग्रेसको केन्द्रीय समिति भंग भइसकेको सन्दर्भमा कारबाही गरे भन्नु हास्यास्पद भएको बताए । उनले देउवालाई २८ असोजमा फर्किन आग्रह गरिएको पनि स्मरण गरे । जुन दिन देउवाले केन्द्रीय समिति बैठकमा लिखित पत्र वाचन गरेर सभापतिको कार्यकारी भूमिकाबाट अलग भएको सन्देश दिएका थिए । लगत्तै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए । गगन र विश्वले देउवाको यो कदमको तारिफ गरे । तर, सिंगापुरमा लामो समय उपचार गरेर फर्किएपछि उनी सक्रिय भए । यसबाट उनीहरू झनै चिढिए ।
त्यसबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर विशेष महाधिवेशनका लागि संकलन गरे । विधानतः हस्ताक्षर बुझाएको तीन महिनामा विशेष महाधिवेशन गरिसक्नुपर्छ । त्यसअनुुसार यही पुस २७ मा विशेष महाधिवेशन गर्नुपर्ने विधानको सीमा थियो । तर, हालैको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधनको निर्णय ग¥यो । उक्त निर्णयमा गगन-विश्वले ‘नोट अफ डिसेन्ट’ लेखे ।
विशेष महाधिवेशन पक्षधरहरू ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावनालाई सम्बोधन गर्ने देउवालाई चेतावनी दिए । नभन्दै विशेष महाधिवेशन आह्वान भयो । बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशन भृकुटीमण्डपमा भयो । यसले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिमा बहुमत रहेका देउवालाई सभापतिबाट अपदस्त गर्यो ।
तेस्रोपटक विभाजित
आठ दशक लामो इतिहास बोकेको दल कांग्रेस तेस्रोपटक विभाजित भएको छ । पहिलोपटक २०१० सालमा कांग्रेस विभाजन भएको थियो । त्यसबेला बिपी र मातृकाको टकराव विभाजनको कारक थियो । २०५९ मा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकरावले कांग्रेस विभाजन भयो । यसपटक उनै देउवा र महामन्त्रीद्वयको टकरावले कांग्रेस फुटेको हो ।
खासमा गगन-विश्वले जेन-जी विद्रोहपछि सुधारिएको कांग्रेस र बद्लिएको कांग्रेसको एजेण्डा जोडतोडले उठाए । नेतृत्वमा पुस्तान्तरणको एजेण्डा त चौधौं महाधिवेशनमा पनि उठेको थियो । तर, ८० वर्षे देउवा पार्टीको राजकीय सत्ता र शक्तिबाट अलग हुन चाहेनन् । अन्ततः उनको राजनीतिक बहिर्गमन पीडादायी भएको छ ।