काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्य, जिल्ला सभापति र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन ‘विष पिउने’ समेत तयार रहेको बताएका हुन् ।
कोइरालाले आफू पार्टीभित्रको एकता कायम गर्न अन्तिम प्रयासमा जुटिरहेको बताए । आफूले सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनु हुँदैन भनेर निरन्तर संवाद गरिरहेको उनले जानकारी दिए । उपस्थित नेता तथा कार्यकर्तालाई आश्वस्त पार्दै उनले ढुक्क भएर पार्टी एकताको पक्षमा लाग्न र निराश नहुन आग्रह गरे ।