- भृकुटीमण्डपमा भेला भएका कांग्रेसका युवा नेताहरुले गगनलाई भावी नेतृत्वका रुपमा प्रस्तुत गर्दै उनको फोटो भएको झण्डा, टोपी लगाएका थिए
- ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको अवस्थामा बन्दसत्रको हलबाट गगनलाई सभापतिका रुपमा चयन गर्ने तयारी
- देउवालाई दिनभर पर्खेको विशेष महाधिवेशन पक्षधरका नेताहरुले मञ्चमा पुग्नसाथ बन्दसत्रमा भए पनि आइदिन गरे आग्रह
काठमाडौं- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटनमा महामन्त्री थापाको क्रेज उल्लेख्य देखिन्थ्यो ।
संस्थापनपक्षको नीतिविरुद्ध विद्रोहीको रुपमा प्रस्तुत भएका गगनले आफ्नो शक्ति प्रदर्शनका रुपमा विशेष महाधिवेशनलाई लिएको देखिन्छ । भृकुटीमण्डपमा भेला भएका कांग्रेसका युवा नेताहरुले गगनलाई भावी नेतृत्वका रुपमा प्रस्तुत गर्दै उनको फोटो भएको झण्डा, टोपी लगाएका थिए ।
दिउँसो १ बजेबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र साँझ ७ बजेसम्म पनि गगनको भाषण सुन्न नेता कार्यकर्ता धीर भएर उभिएका थिए । गगनले सम्बोधनका क्रममा कांग्रेस दास र लासहरुको पार्टी नभएको बताए । ‘कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं,’ उनले भने, ‘कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन ।’
गगनले भदौ २३ र २४ मा भएको ‘जेन-जी आन्दोलन’ केवल नवयुवाको असन्तुष्टिमात्र नभई देशभरका लाखौं नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको परिणाम भएको बताए । महामन्त्री थापाले राजतन्त्र अन्त्य गरी ल्याइएको गणतन्त्रमा ‘नेपोबेबी’ प्रवृत्तिको बर्चस्व देखेर जनता आक्रोशित भएको उल्लेख गरे । ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले गणतन्त्र ल्यायौं । तर आज त्यसै गणतन्त्रमा नेपोबेबीहरूको राज देख्दा जनता रिसाएका हुन् । त्यो रिस जेन-जी आन्दोलनका क्रममा सडकमा पोखियो,’ उनले भने । आन्दोलनमा जनताले सरकार, संसद् र समग्र राजनीतिक प्रणालीप्रति असन्तुष्टि प्रकट गरेको बताए ।

अर्का महामन्त्री शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताए । ‘आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू- कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ । तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं,’ महामन्त्री शर्माले भने, ‘फागुन २१ गते रूख चिह्नमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, नदोहो¥याउने संकल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दै छौं ।’
महामन्त्री शर्माले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्टि कायम हुन नसकेको उल्लेख गरे । सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उनको भनाइ थियो । यस्ता असन्तुष्टिका उदाहरणहरू धेरै रहेको र तिनलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए ।
महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।
विशेष महाधिवेशनमा देउवाको खोजी
कांग्रेस विशेष महाधिवेशनमा धेरैले सभापति शेरबहादुर देउवा पनि उपस्थित हुनुपर्ने माग गरेका छन् । मञ्चमा पुगेका नेताहरुदेखि महाधिवेशन प्रतिनिधिहरुले देउवाले यसलाई अपनत्व लिनुपर्ने बताएका हुन् । मञ्चबाट कांग्रेस नेता सुनिल शर्माले बन्दसत्रमा भए पनि आउन आग्रह गरे । ‘रोइलो छाडेर यो हलमा आउनुस्, तपाईंलाई हामी विकल्प दिन्छौं,’ शर्माले भने ।
गगननिकट नेता डिल्लीराम सुवेदीले आइतबारको उपस्थिति देखेर देउवा पनि उपस्थित हुने बताए । ‘यो उपस्थिति देखेपछि सभापतिले पनि सम्बोधन गर्नुहुने छ भन्ने हामीलाई लाग्छ,’ सुवेदीले भने । सभापति देउवा भने विशेष महाधिवेशन गर्न नहुने भन्ने पक्षमा अडिग छन् । देउवाका लागि विशेष पक्षधरले सिट पनि छुट्याएका थिए । तर देउवा आएनन् । मञ्चबाट नै केन्द्रीय सदस्य मधु आचार्यले भनिरहेका थिए, ‘यो विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिको सिट पनि खाली छ ।’
देउवाले दिनभर आफूपक्षका नेता र संस्थापनइतरका नेता डा. शेखर कोइरालासँग छलफल गरे । दिनभरको छलफलको क्रममा के-के भयो भन्ने विषय खुलेको छैन । देउवा नआउँदा आफूलाई दुःख लागेको महामन्त्री थापाले बताए । ‘तल ओर्लिएर नेताहरूको तस्बिरमा माल्यार्पण ग¥यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन ग¥यौं । हामीलाई खुसी लागेको होइन,’ प्रमुख अतिथिका रुपमा उपस्थित थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’
विशेष महाधिवेशनमा संस्थापनपक्षका नेताहरु पूर्वउपसभापति गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, महेश आचार्य, नरहरि आचार्य, विनोद चौधरी, सुनिल शर्मा, उदयशमशेर जबरा, डिला संग्रौला, पुष्पा भुसाल, राजेन्द्रकुमार केसीसहित कोशी प्रदेशमा विद्रोह गरेर मुख्यमन्त्री बनेका शेखर समूहको नेताका रुपमा चिनिएका केदार कार्की विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेका थिए ।
२६६२ प्रतिनिधिको नाम दर्ता
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन दुई हजार ६६२ जना प्रतिनिधिले नाम दर्ता गराएको विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेले दाबी गरे । आइतबार राति ९ बजेसम्म दुई हजार ६६२ प्रतिनिधिको नामावली दर्ता भएको पाण्डेले विज्ञप्तिमार्फत जनाएका हुन् ।
जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन जिल्लाबाट १७८, भ्रातृ शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि गरी जम्मा २६ सय ६२ जनाले नाम दर्ता गराएका हुन् ।
कूल चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेको कांग्रेसमा २६ सय २६ प्रतिनिधि भनेको ५६ प्रतिशत हो । आज (सोमबार)समेत प्रतिनिधिहरुको नाम दर्ता हुने छ । आज बिहान ८ः०० बजेबाट नाम दर्ता हुने तथा बन्दसत्र बिहान १०ः०० बजेबाट हुने जनाइएको छ ।
बन्द सत्रबाट नेतृत्व छानिएला ?
विशेष महाधिवेशन आयोजना सफल भएसँगै आज के होला ? धेरैले चासोपूर्वक हेरिरहेका छन् । ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको अवस्थामा बन्दसत्रको हलबाट गगनलाई सभापतिका रुपमा चयन गर्ने तयारी विशेष पक्षधरको देखिन्छ । उनी पक्षधर नेताहरु गगनलाई सभापतिका रुपमा चयन गरेरमात्र महाधिवेशन टुंगोमा पुगिने बताउँछन् । उनीहरुको भनाइलाई साथ दिनेगरी गगनले पनि महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने थाहा नभएको बताएका छन् । ‘कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन । तपाईंहरूले माग्नुभएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने,’ थापाले भने, ‘मैले मागेको होइन, तपाईंहरूले मागेको हो । हाउसले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ ।’
गगन सभापति छानिनु भनेको कांग्रेस फुटको दिशामा अघि बढ्नु भएको विश्लेषकहरु बताउँछन् । अर्का महामन्त्री शर्माले आफू पार्टी फुटको दिशामा जानबाट रोक्न लाग्ने यसअघि बताइसकेका छन् । बरु यो विशेष महाधिवेशनलाई संकल्प प्रस्तावका रुपमा परिणत गराउने प्रयासमा शर्मा लाग्ने बताउँछन् । यता डा.शेखर कोइराला पक्षले भने यसलाई नीति महाधिवेशनमात्र बनाउनेगरी देउवासँग छलफल अघि बढाइरहेका छन् । महाधिवेशनमा देउवानिकट नेताहरु र शेखरनिकट नेताहरुकोसमेत घुसपैठ रहेको भन्दै गगननिकट नेताहरु भने सशंकित बनेका छन् । उनीहरुका कारण बन्दसत्र भँडिन नदिन आफूहरु लागिपरेको विशेष महाधिवेशन पक्षधरहरु बताउँछन् ।