- विशेष महाधिवेशन आज र भोलि भृकुटीमण्डपमा
- नीति र नेतृत्व फेर्ने तयारी
- देउवाले विशेष महाधिवेशनको निम्ता स्वीकारेनन्
- कांग्रेस फुटको पानीढलो विशेष महाधिवेशन हुने संशय
- विशेष महाधिवेशन प्रभावित पार्न देउवा सक्रिय
- केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक आह्वान
- महामन्त्रीद्वयसहितका नेताहरूलाई कारबाही गर्ने देउवा तयारी
काठमाडौं- पार्टी विभाजन हुने संशयबीच नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि हुँदै छ । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मापक्षले आह्वान गरेको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो ।
विशेष महाधिवेशनले नीतिसँगै नेतृत्व परिवर्तन गर्ने भनिएको छ । नेतृत्व परिवर्तन भनेको सभापतिबाट शेरबहादुर देउवालाई हटाएर महामन्त्री थापालाई सभापति बनाउने भनिएको हो । थापाले यसअघि नै विशेष महाधिवेशनको म्याण्डेटलाई स्वीकार्ने बताइसकेका छन् ।
सभापति देउवा भने नियमित महाधिवेशन नै गर्नुपर्ने अडानमा छन् । उनको स्पष्ट बहुमत रहेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गएको साता आगामी वैशाखको अन्तिममा नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा महामन्त्री थापा, शर्मालगायत नेताहरूले नोट अफ डिसेन्ट लेखेका थिए । विशेष महाधिवेशन विधानको परिपालना गर्न र पार्टीलाई थप मजबुत पार्न अनिवार्य रहेको भन्दै आज र भोलिका लागि आह्वान गरेका हुन् ।
विशेष महाधिवेशनअघि बिहान ११ बजे काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ¥याली निकालिने भएको छ । ¥यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउनेगरी तयारी भएको नेता अजय शिवाकोटीले बताए । उनका अनुसार विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे महामन्त्रीद्वयले गर्ने भएको छ । तर, उद्घाटन सत्रको सभापतित्व काठमाडौंका सभापति सबुज बानियाँले गर्ने भएका छन् । बन्द सत्रको सभापतित्व ज्येष्ठ नेता ओमकार श्रेष्ठ र गोपालमान श्रेष्ठमध्ये एकले गर्ने नेता मनोजमणि आचार्यले बताए ।
उसो त विशेष महाधिवेशन पक्षधरले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता शेखर कोइरालालगायतलाई अतिथिका रूपमा निम्तो गरेका छन् । तर, उनीहरू विशेष महाधिवेशनमा सहभागी हुने सम्भावना देखिएको छैन ।
सभापति देउवालाई निम्ता दिन गएकाहरूलाई स्वकीय सचिव भानु देउवाले त्यसै फिर्ता पठाएका छन् । उनले प्रभावसँग भने, ‘के को निम्ता ? लाज लाग्दैन ? भन्दै फर्काइ दिएँ ।’ सभापति देउवाले आज दिउँसो ३ः१५ बजेका लागि केन्द्रीय समितिको आकस्मिक ‘भर्चुअल’ बैठक बोलाएका छन् । महामन्त्रीपक्षधरको विशेष महाधिवेशन असफल पार्नेगरी देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन् । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकको एजेण्डा एकता र समायोजन रहेका छन् ।
देउवानिकट एक नेताका अनुसार देउवाले सोही बैठकबाट महामन्त्रीहरू थापा र शर्मालगायत नेताहरूलाई केन्द्रीय समितिको बहुमतले कारबाही गर्ने तयारी गरेका छन् । पार्टीको केन्द्रीय समितिमा देउवाको पक्षमा स्पष्ट दुईतिहाइ बहुमत छ । एकातिर देउवा कारबाही गर्ने र अर्कातिर महामन्त्रीहरूले विशेष महाधिवेशनबाट देउवालाई हटाउने खेलले स्पष्ट रूपमा पार्टी विभाजन हुने भन्दै डा. शेखर कोइराला चिन्तित छन् । उनले शनिबार देउवा र महामन्त्रीद्वयलाई छिटो संवाद गर्न सुझाव दिए । कांग्रेस विभाजन भए त्यसले पार्टी कमजोरमात्रै नभएर लोकतान्त्रिक प्रणाली नै खतरामा पर्न सक्ने भन्दै एकताबद्ध कांग्रेसको पक्षमा उभिन दबाब दिए । तर, सभापति देउवा र महामन्त्रीद्वय संवादहीनताको स्थितिमा पुगेका छन् ।
महामन्त्रीद्वय कुनै पनि हालतमा विशेष महाधिवेशन नरोक्नेगरी अघि बढेका छन् । उनीहरूलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको बलियो साथ छ । शनिबार साँझसम्म ३० जिल्ला सभापतिले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्दै ऊर्जावान् र समयको आवाज बुझ्ने कांग्रेस बनाउनुपर्ने भन्दै साथ दिएका छन् । विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । तर, कांग्रेसका ४७ जिल्ला सभापति र पाँचवटा प्रदेश सभापतिले भने विशेष महाधिवेशन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।
कांग्रेसको १७ देशका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकताबद्ध बनाउन आग्रह गर्दै विशेष महाधिवेशन रोक्न माग गरेका छन् । सम्पर्क समितिका सभापतिहरूले संयुक्त विज्ञप्ति निकाल्दै कांग्रेस अप्ठेरो अवस्थामा रहेकाले संयमता अपनाएर १५औं नियमित महाधिवेशनमै अघि बढ्नुपर्ने मत प्रकट गरेका हुन् । ‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं । मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भइसकेको अवस्था छ । यस्तो बेला तपाईं हाम्रो आन्तरिक बेमेललाई थाँती राखेर मुलुक र पार्टी बलियो बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ,’ संयुक्त विज्ञप्तिमा छ ।
देउवाले विशेष महाधिवेशन रोक्न यसरी चौतर्फी दबाब बढाएका छन् । विशेष महाधिवेशन प्रभावित पार्न पनि खोजेका छन् । त्यसका लागि उनीनिकट तरुण दल अध्यक्ष विद्वान गुरुङले युवा भेला बोलाएका छन् । सोमबार भने सभापति देउवाले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । देउवाको यो कदमले मुठभेटको स्थिति सिर्जना हुने आशंका पनि भइरहेको छ ।