- कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन
- कांग्रेस नौ, एमाले आठ र जसपा नेपाललाई एक सिट
- कांग्रेस-एमालेसँग सिट बाँडफाँट नमिलेपछि नेकपा एक्लै चुनावमा
- कोशीबाट कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध
- सबै प्रदेशमा गठबन्धन बलियो, नेकपालाई जित निकाल्न सकस
काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवारी परेको हो ।
सबै प्रदेशमा बुधबार दलहरूले आयोगले तोकेको समयमा उम्मेदवारी दर्ता गराएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । ‘आयोगको प्रदेशस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर दलहरूले उम्मेदवारी दर्ता गरेका छन्,’ उनले प्रभावसँग भने, ‘क्लस्टरअनुसार उम्मेदवारी दर्ता गराएका छन् ।’ निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालले गठबन्धन गरेका छन् । बाँकी दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका हुन् । बुधबार बिहानसम्मै कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच चुनावी गठबन्धनबारे छलफल चलेको थियो । नेकपाले निर्वाचन हुने १८ सिटमध्ये चार सिट मागेको थियो । कांग्रेस र एमाले तयार भएनन् । तीन सिटमात्रै दिन तयार भए । जसपा नेपालले दुई सिट मागेकोमा एक सिटमा चित्त बुझायो । तर, नेकपा असन्तुष्ट हुँदै गठबन्धनबाट बाहिरियो ।
नेकपा नेता हरिबोल गजुरेलले सबै प्रदेशमा उम्मेदवारी दिएको बताए । ‘हामीले मतभारको आधारमा सिट बाँडफाँट हुनुपर्छ भन्यौं, तर कांग्रेस र एमालेले हेपेर तीन सिटभन्दा बढी दिन सकिँदैन भने, त्यसपछि लौ न त चुनाव लडौं भनेर हामीले उम्मेदवारी सबै प्रदेशमा दियौं,’ उनले भने । प्रदेशगत मतभारलाई आधार मान्दा कांग्रेस र एमाले चुनावी गठबन्धनमा रहँदा सबै प्रदेशबाट सहज जित हुने अवस्था छ । नेकपालाई जित निकाल्न निकै कठिन हुने भएको छ । यदि, कांग्रेसको असन्तुष्ट महामन्त्रीद्वयले सहयोग गरे भने नेकपाले अनपेक्षित जित ठाउँ-ठाउँमा निकाल्न सक्ने विश्लेषण पनि भइरहेको छ । तर, त्यस्तो सम्भावना न्यून रहेको जानकारहरु बताउँछन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनमा दायाँबायाँ नहुने दाबी गरे । ‘गठबन्धनमा हामी दुवै शक्ति इमानदार हुन्छौं । त्यसमा कुनै शंका गर्नुपर्ने छैन,’ प्रवक्ता महतले भने । गठबन्धनपछि कांग्रेसले सबैभन्दा बढी नौ सिट पाएको छ । एमालेले आठ सिट पाउँदा जसपा नेपालले एक सिट पाएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १८ सिटका लागि निर्वाचन हुन लागेको हो । सोहीअनुसार बुधबार सबै प्र्रदेशमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसारका कोशीमा तीन सिटमा निर्वाचन हुँदै छ । अन्य सिटबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । नेकपाबाट उम्मेदवारी नपर्दा उनी निर्विरोध भएका हुन् । उनी पूर्वउद्योगमन्त्री पनि हुन् । धनकुटा घर भएका उनका बुबा सूर्यबहादुर थापा पटक-पटक प्रधानमन्त्री भएका थिए । सुनिल पनि एकपटक मन्त्री र एक पटक सांसद भए । पछिल्लो समय उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । उक्त पदबाट राजीनामा दिएर उनी राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट अन्य पदमा उम्मेदवार भए । अन्ततः उनी निर्विरोध हुँदा राष्ट्रिय सभाको यात्रा सहज भयो ।
सोही प्रदेशबाट महिला सिटमा नेकपाबाट नमिता न्यौपानेको उम्मेदवारी परेको छ । उनीसँगै नेकपा एमालेकी रोशनी मेचे प्रतिस्पर्धामा छिन् । दलित क्लस्टरमा नेकपाका खेमराज नेपाली र एमालेका सोमनाथ पोर्तेल प्रतिस्पर्धामा छन् । मधेस प्रदेशमा महिलाबाट जनता समाजवादी पार्टी नेपालकी चन्द्रकलादेवी साहको उम्मेदवारी परेको छ । त्यहाँ एमालेकी रेखाकुमारी झा र नेकपाकी शमीकुमारी अग्रवाल पनि प्रतिस्पर्धामा छन् । दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान, जसपा नेपालकी चमेलीदेवी दाल र नेकपाका शम्भु पासवान हजारी प्रतिस्पर्धामा छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट रामनन्दन प्रसाद, रञ्जित कर्ण र शैलेशकुमार चौधरीको उम्मेदवारी छ । प्रसाद नेकपा, कर्ण कांग्रेस र चौधरी जसपा नेपालका उम्मेदवार हुन् ।
अन्यबाट महन्थ ठाकुर र लक्ष्मण पौडेल उम्मेदवार छन् । ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष हुन् । उनलाई कांग्रेस, एमाले र जसपाको साथ छ । पौडेल नेकपाका उम्मेदवार हुन् । बागमतीमा महिला कोटामा कांग्रेसकी गीता देवकोटासँग नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की कविता महर्जन चुनाव लड्दै छन् । अन्य सिटमा विक्रम ढुकुछु, प्रेमप्रसाद दंगाल र प्रेमप्रसाद सापकोटा उम्मेदवार छन् । ढुकुटु नेमकिपा, दंगाल एमाले र सापकोटा नेकपाका उम्मेदवार हुन् ।
गण्डकीमा महिला सिटमा एमालेकी सम्झना देवकोटा उम्मेदवार छिन् । उनलाई नेकपाकी गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटाले टक्कर दिने भएकी छन् । अन्य सिटमा नेकपाका कपिल लामा उम्मेदवार छन् । उनीसँग चुनावी प्रतिस्पर्धामा कांग्रेसका जगत तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल मैदानमा छन् । लुम्बिनी प्रदेशको महिला सिटमा नेकपाबाट दुर्गाकुमारी भण्डारी उम्मेदवार छिन् । उनीसँग राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डित र एमालेकी रामकुमारी झाँक्री प्रतिस्पर्धामा छन् । झाँक्री गत मंसिरको तेस्रो साता एमाले फर्किएकी नेत्री हुन् । पूर्वमन्त्रीसमेत रहेकी झाँक्री राष्ट्रिय राजनीतिमा चर्चित पात्र हुन् ।
लुम्बिनीमै अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सिटमा नेपाली कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका वोमबहादुर खत्री, नेकपाका बृहस्पति अधिकारीको उम्मेदवारी छ । कर्णालीको महिला सिटमा नेकपाकी अञ्जु महतरा र एमालेकी मीनासिंह रखाल उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशको महिला सिटमा एमालेकी लिलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत तथा अन्यमा कांग्रेसका खम्बबहादुर खाती र नेकपाका टीकाराम जैसी उम्मेदवार छन् ।
निर्वाचनमा मतदाता प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष हुन् । उनीहरूको मतभार तोकिएको छ । निर्वाचन आयोगले प्रदेशको राजधानीमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका छन् । मतदानस्थल र मतदान केन्द्रको पनि व्यवस्था गरिएको जनाएको छ । आगामी २१ फागुनमा राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १८ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । एक जना राष्ट्रपतिबाट मनोनीत हुनाले उक्त पदमा निर्वाचन नहुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।