काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्दैछ।काठमाडौंको नयाँ बानेश्वरको आनन्द भूमि पार्टी प्यालेसमा कांग्रेस विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको हो।
यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने तयारी छ। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म विशेष महाधिवेशन पक्षमा छैनन्।
बहुमतका आधारमा पुस १८ को केन्द्रीय कार्यसम्पादन समितिले वैशाख मसान्तमा १५औं महाधिवेशन तोकेको थियो।त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जनाले फरक मत राखेका थिए।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए। तर त्यसअनुसार प्रक्रिया अघि बढेको थिएन।
विधानको धारा १७ को २ अनुसार हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ। विधानको यो व्यवस्था बाध्यकारी रहेको बताउँदै महामन्त्रीद्वयले विशेष महाधिवेशन हुने बताइरहेका छन्। सम्भवत: आज विशेष महाधिवेशन आह्वान हुनेछ।