काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाल सौर्य ऊर्जा विद्युत् संघको २५औँ वार्षिक साधारणसभालाई कार्यम्रममा बताएका हुन् ।
उनले आज कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो,” उनले भने ।
मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताए । उनले देशभर रहेका सिँचाइका नहरमा सौर्य ऊर्जा उत्पादनका लागि सरकारले अध्ययन गरिरहेको उल्लेख गरे । “सिँचाइका नहरमाथि सौर्य उत्पादन गरेर कसरी निजी क्षेत्रलाई समावेश गर्न सकिन्छ भनेर सरकार लागिरहेको छ,” उनले भने ।
उनले छिमेकी मुलुक भारतमा एक लाख मेगावाटभन्दा बढी सौर्य ऊर्जा उत्पादन भइरहेको बताउँदै नेपालको पहाडी भूभागमा रहेका डाँडाहरुको प्रयोग गरेर नेपालमा पनि सौर्य ऊर्जा उत्पादनलाई बढाउन सकिने बताए । भारतमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी प्रसारण लाइन निर्माण भइरहेको उनको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनको असरले खोलाहरु सुक्दै जाँदा विद्युत् उत्पादनमा असर परिरहेको बताए । उनले आगामी दिनमा नेपालले सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । उपाध्यक्ष श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनालाई नवीकरणीय ऊर्जालाई प्राथमिकता दिएको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले सरकारले आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले जलविद्युत्सँगै सौर्य ऊर्जा क्षेत्रमा पनि क्रमशः विकास हुँदै गएको उल्लेख गरे ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालभित्र विद्युत्को पहुँच नपुगेका दुरदराजको क्षेत्रमा सौर्य ऊर्जा पुर्याउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा उत्पादनलाई मर्यादित र व्यवस्थित बनाउन संघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । संघको २५औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमसमेत रहेको छ ।