काठमाडौं - नेपालीले विदेशमा लगानी गर्ने बाटाे खुलेकाे छ । नेपाल राष्ट्र बैंकले मंगलबार सूचना सार्वजनिक गर्दै संशोधित विनियमावली लागु गर्न भनेसँगै विदेशमा लगानी गर्न बाटो खुलेको हो ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’मा पाँचौँ संशोधनमार्फत विदेशमा अमेरिकी डलर २० हजारसम्म लगानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
उक्त विनियमावलीको विदेशमा लगानीको नियमनसम्बन्धी व्यवस्थाअन्तर्गत भनिएको छ, “(४क) उपविनियम ३ र ४ मा जुनसुकै कुरा लेखिएको भएता पनि अमेरिकी डलर २० हजार वा सो बराबरसम्मको विदेशमा लगानीको लागि उपविनियम ३ र ४ को व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।”
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १०(क) मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले उक्त विनियमावलीमा संशोधन गरी नयाँ व्यवस्थाहरू थप गरेको बताएको छ । यस संशोधनमा विदेशमा लगानीसम्बन्धी सर्त, लगानीको क्षेत्रगत सीमालगायत वैदेशिक ऋण व्यवस्थापनका अन्य महत्त्वपूर्ण प्रावधानहरू समावेश गरिएको हो