काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८१-८२ मा ७० करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ६५ प्रतिशत बढी हो। २०८०-८१ मा बोर्डको नाफा ४२ करोड रुपैयाँ थियो।
गत आर्थिक वर्षमा बोर्डको आम्दानी पनि १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बोर्डको आम्दानी ८९ करोड रुपैयाँ मात्रै थियो। बोर्डको आम्दानीको मुख्य स्रोतमा धितोपत्र दर्ता, निष्कासन स्वीकृति, म्युचुअल फण्ड स्वीकृति, क्रेडिट रेटिङ सेवा, सीडीएस एण्ड क्लियरिङ सेवा, मर्चेन्ट बैंकिङ तथा ब्रोकर प्रमाणपत्र नवीकरण शुल्क, कारोबार दस्तुर लगायत रहेका छन्।
यी शिर्षकहरुबाट १ अर्ब १३ करोड रुपैयाँ आम्दानी भएको छ । बाँकी १६ करोड रुपैयाँ ब्याज र अन्य स्रोतबाट आएको छ । बोर्डको कर्मचारीका लागि २६ करोड खर्च गरेको छ । त्यस्तै, अन्य संचालन खर्च ९ करोड १५ लाख तथा ह्रास कट्टी खर्च ७९ लाख रहेको छ ।
बोर्डको वासलातको आकार गत वर्षको तुलनामा उल्लेखनीय रुपमा बढेको छ । आर्थिक वर्ष २०८०-८१ मा बोर्डको वासलात ३ अर्ब ५१ करोड रुपैयाँ थियो भने २०८१-८२ मा उक्त वासलात ४ अर्ब ७० करोड २७ लाख रुपैयाँ पुगेको छ।