काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज अपरान्ह २ बजे बस्दैछ। बैठकमा आगामी निर्वाचनको तयारीसँग सम्बन्धित विविध महत्त्वपूर्ण विषयमा छलफल हुने पार्टीले जनाएको छ।
आजको बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गर्ने विषय प्रमुख एजेण्डाका रूपमा रहेको छ। त्यसैगरी उम्मेदवार सिफारिस उपसमिति र पार्टी समायोजन उपसमिति विस्तार गर्ने प्रस्तावमाथि पनि छलफल हुने छ।
बैठकको एजेण्डामा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि तथा निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि तय गर्ने विषय समावेश छन्।
यसका साथै प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तह उम्मेदवार क्लब गठनसम्बन्धी विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताएका छन्।
पार्टी संगठन विस्तार र निर्वाचन तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सचिवालय बैठकमा यी विषयमा निर्णय हुने अपेक्षा गरिएको छ। बैठकका निर्णयहरू औपचारिक रूपमा सार्वजनिक गरिने पार्टीले जनाएको छ।