काठमाडौं - नेकपा एमाले सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ। बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी, पार्टीको संगठनात्मक संरचना तथा निर्वाचन केन्द्रित रणनीतिलगायत महत्त्वपूर्ण विषयमा विस्तृत छलफल भइरहेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
सचिव बस्नेतका अनुसार बैठकको मुख्य प्राथमिकतामा आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन रहेको छ। यससँगै निर्वाचनलाई प्रभावकारी ढङ्गले अघि बढाउन घोषणा–पत्र तयारी समिति र निर्वाचन परिचालन समिति गठन गर्ने विषयमा समेत छलफल भइरहेको छ।
निर्वाचन केन्द्रित कार्यविभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँटसम्बन्धी विषय पनि बैठकको एजेण्डामा रहेको छ। युवालाई केन्द्रमा राखेर निर्वाचन परिचालन गर्ने रणनीतिबारे बैठकमा विशेष छलफल भइरहेको छ।
पार्टी संगठनमा युवाको भूमिकालाई थप सक्रिय बनाउँदै निर्वाचन अभियानमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने रणनीति तय गर्ने तयारी एमालेको रहेको बुझिएको छ।त्यसै गरी संशोधित विधानअनुसार बागमती प्रदेश कमिटी, राजधानी प्रदेश कमिटी तथा सम्पर्क विशेष संगठन कमिटी गठनका विषयमा समेत सचिवालय बैठकमा छलफल भइरहेको छ।
यी संरचनालाई छिट्टै पूर्णता दिई पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने लक्ष्य एमालेले लिएको छ।बैठकमा पार्टी नियमावलीमा आवश्यक संशोधन गर्ने विषय र नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधनसम्बन्धी प्रस्तावमाथि पनि छलफल भइरहेको छ। पार्टीको नीतिगत तथा वैचारिक पक्षलाई सुदृढ बनाउने उद्देश्यले नीति अनुसन्धान प्रतिष्ठानको भूमिका अझ प्रभावकारी बनाउने दिशामा छलफल केन्द्रित रहेर छलफल भइरहेको छ ।
सचिवालय बैठकबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउनेदेखि लिएर संगठनात्मक संरचना र निर्वाचन रणनीतिसम्बन्धी महत्त्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। बैठकको निष्कर्ष र निर्णय औपचारिक रूपमा सार्वजनिक गरिने पार्टीले जनाएको छ।
यी हुन् छलफलका एजेण्डाहरु:
१. राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन
२. घोषणा–पत्र तयारी समिति गठन
३. निर्वाचन परिचालन समिति गठन
४. निर्वाचन केन्द्रित भूगोलको कार्यविभाजन
५. युवा केन्द्रित निर्वाचन परिचालन रणनीति
६. संशोधित विधानअनुसार
– वाग्मती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन
७. पार्टी नियमावलीमा संशोधन
८. नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन