नेपालगन्ज- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जबसम्म मुलुकमा औद्योगिक क्षेत्रमा आमूल परिवर्तन गरेर जान सकिदैन तबसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।
नेपाल औद्योगिक क्षेत्र महासङ्घको २५औँ साधरणसभामा मुख्यमन्त्री आचार्यले औद्योगिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको मनोबल बढाउन र व्यवसायीको दक्षता अभिवृद्धि गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । औद्योगिक क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै उनले स्वदेशी उत्पादनलाई बढवा दिन लुम्बिनी प्रदेश सरकारले जोड दिएको बताए ।
“हामीले हाम्रा नीति कार्यक्रममा नै स्वदेशी उत्पादनको उपभोगमा जोड दिएका छौँ”, उनले भने । नेपाली उद्योगले उत्पादन गरेका वस्तु प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले राज्यले नै स्वदेशी उत्पादनलाई बढवा नदिए यहाँका उद्योग तथा व्यवसाय फस्टाउन नसक्ने बताए । उद्योग व्यवसायमा भएका व्यवसायी अहिले सङ्कटमा रहेको उल्लेख गर्दै उहाँले उद्योगी तथा व्यवसायीलाई राज्यले उत्साहित र संरक्षण गर्न आवश्यक भएको बताए ।
“उद्योगी तथा व्यवसायीलाई उद्योग तथा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरिदिनुपर्छ तर त्यसो हुनसकेको छैन, त्यहाँ हामी चुकेका छौँ”, मुख्यमन्त्री आचार्यले भने ।नेपाल औद्योगिक क्षेत्र महासङ्घका अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्रबाट युवाको पलायन चिन्ताजनक भएको उल्लेख गर्दै उद्योग धरासायी भएको बताए ।