काठमाडौं– वरिष्ठ पत्रकार कुमार यात्रु तामाङसहित पाँच आदिवासी अधिकारकर्मीलाई ह्योल्मो समुदायबाट अभिनन्दन र सम्मान गरिएको छ । नेपाल ह्योल्मो महिला संघ र ह्योल्मो सञ्चार समूहले मंगलबार आयोजना गरेको कार्यक्रममा इण्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्मातासमेत रहेका यात्रु सम्मानित भएका हुन् ।
सञ्चारकर्ममार्फत आदिवासी ज्ञान, आदिवासीको प्रथाजनित संस्था र भूमि, भूभाग र भूक्षेत्रको अधिकार पुनर्स्थापनामा विशेष योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन ह्योल्मोले वरिष्ठ पत्रकार यात्रुलाई अभिनन्दनसहितको सम्मानपत्र प्रदान गरे । यात्रुले ह्योल्मो प्रथाजनित संस्था ह्युलठिमको अनुसन्धान र ह्युठिमको संरचना तथा सांस्कृतिक कार्यक्रममार्फत पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र निर्माण गरेका छन् ।
सोही कार्यक्रममा वरिष्ठ आदिवासी मानवअधिकारकर्मी शंकर लिम्बूलाई पनि सम्मान गरिएको छ । नेपालका अदिवासीको मानवअधिकारसम्बन्धी वकिल समूह लाहुर्निपका उपाध्यक्षसमेत रहेका लिम्बू संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोगबाट समेत पुरस्कृत भएका छन् । उनले आदिवासीको मानवअधिकार उल्लंघनविरुद्ध निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएका छन् ।
हेलम्बु गाउपालिका अध्यक्ष निमाग्याल्जेन ह्योल्मो र ल्हासाका लागि पूर्वमहावाणिज्यदूत विनोद ह्योल्मोसमेत सोही अवसरमा सम्मानित भए । कार्यक्रममा नेपाल ह्योल्मो समाज सेवा संघकी अध्यक्ष रेञ्जेनडोल्मा ह्योल्मोसहित ह्योल्मोजन्य प्रथाजनित संस्थाका प्रतिनिधिका रुपमा लामा, गोवा, च्यिवालगायतको उपस्थिति थियो ।